बाक्लो कुहिरो र शीतलहरले उपत्यकासहित तराईको जनजीवन कष्टकर

काठमाडौं । बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न भू-भाग बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर बनेकाे छ । हिजो भएको वर्षा र वायुमण्डलको तल्लो तहमा बढेको चिसोका कारण सिर्जित बाक्लो कुहिरोले गर्दा जनजीवन र हवाई यातायात सेवा नराम्ररी प्रभावित भएको छ ।

न्यून पारदर्शिता (भिजिबिलिटी) का कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार बिहानैदेखि उडानको पर्खाइमा रहेका यात्रुहरू विमानस्थलमै रोकिएका छन् । काठमाडौँ बाहिरका भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका विमानस्थलमा समेत ‘भिजिबिलिटी’ अत्यन्तै कम हुँदा उडानहरू तालिकाभन्दा निकै ढिलो भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले हिजोको वर्षातपछि वायुमण्डलको माथिल्लो तहमा चिसो बढेको र वाष्पीकरण प्रक्रियाका क्रममा पानीका साना कणहरू जमिनकै सतहमा रोकिएकाले बाक्लो कुहिरो लागेको जनाएको छ । तापक्रम र हावाको सन्तुलन नमिल्दा यी कणहरू माथि जान नपाएकाले दृश्य क्षमता घटेको मौसमविद्हरूको तर्क छ ।

कुहिरोकै कारण सडक यातायातमा पनि जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले चालकहरूलाई सचेत रहन र हेडलाइट बालेर सवारी चलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =