बिहानबाट उत्तरी गोरखामा भारी हिमपात

गोरखा । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन् ।

चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौ वटै गाउँबस्तीमा हिमपात भएको स्थानीयवासीको भनाइ छ ।

‘बिहान ३ः०० बजेदेखि हिउँ पर्न सुरु गरेको हो’, चुमनुब्री–७ का पासाङफुञ्जो लामाले भने, ‘हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन् ।’ खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ ।

‘सधैँ हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो’, उनले भने, ‘अब बल्ल हिउँ पर्यो । आगालागीको पनि डर हट्यो । हुरीबतास चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो । त्यस्तो पनि नहुने भयो अनि मङ्सिरमा लगाएको गहुँ खेतीले पनि पानी पाउने भयो । वनको झारलहरूले पनि पानी खान नपाएर आत्तिसकेका थिए । अब पानी खान पाउने भए’, उनले भने ।

हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका छन् भने करिब एक फिट हिउँ जमेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =