जनताका सुझाव सुन्न गाउँगाउँ पुग्दै अध्यक्ष ओली, आज दक्षिणी क्षेत्रमा अन्तरक्रिया

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को संगठन सुदृढीकरण र कार्यकर्ता भेटघाट अभियानमा व्यस्त छन् । निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्ताको भावना बुझ्न उनले आज दक्षिणी भेगका कार्यकर्ताहरूसँग सघन छलफल गर्दैछन् ।

एमाले जिल्ला सचिव तुलसी कार्कीका अनुसार ओलीले आज गौरादह नगरपालिका-५, स्कूलचौनस्थित नमुना कृषि खेतीको सभाहलमा विशेष भेटघाट कार्यक्रम राखेका छन् । कार्यक्रममा उनले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्ज गाउँपालिकाका ६ वटा वडाका वडा कमिटी पदाधिकारी तथा सदस्यहरूसँग छुट्टाछुट्टै समूहमा छलफल गर्ने कार्यतालिका छ ।

भेटघाटमा ओलीले केवल सम्बोधन मात्र नगरी वडास्तरका कार्यकर्ताबाट वस्तुस्थिति बुझ्ने प्रयास गरेका छन् । वडा कमिटीका प्रतिनिधिले आफ्नो क्षेत्रको विकासको अवस्था, मतदाताको मनोभावना र पार्टी संगठनको अवस्थाका बारेमा उनलाई प्रत्यक्ष जानकारी गराउनेछन् । कार्यकर्ताको गुनासो सुन्ने र पार्टीको आगामी रणनीति, देशको वर्तमान राजनीतिक आवश्यकता एवं यस क्षेत्रको विकासमा आफूले पुर्‍याएको योगदानका विषयमा ओलीले कार्यकर्तालाई प्रष्ट पार्नेछन् ।

आजको कार्यक्रममा ओलीले गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगलागी र तोडफोड गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण समेत गर्ने कार्यक्रम छ । उक्त घटनामा गौरादह नगरपालिकाको कार्यालय, वडा नं. १, २ र ७ का वडा कार्यालयका साथै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, गौरादहका मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंशीको घरमा क्षति पुर्‍याइएको थियो । ओलीले ती संरचनाको अवस्था बुझ्दै स्थानीय जनप्रतिनिधि र पीडित परिवारसँग संवाद गर्ने जानकारी दिइएको छ ।

निर्वाचन क्षेत्र केन्द्रित अभियानका क्रममा ओलीले यसअघि नै दमक नगरपालिका र कमल गाउँपालिकाका सबै वडा कमिटीसँग छुट्टाछुट्टै छलफल सम्पन्न गरिसकेका छन् । पार्टीले यस पटक ठूला आमसभाभन्दा पनि वडा तहसम्मै पुगेर कार्यकर्ताका कुरा सुन्ने गरी ‘प्रत्यक्ष संवाद’ को ढाँचामा कार्यक्रम तय गरेको सचिव कार्कीले बताए । अध्यक्ष ओलीको सक्रियतालाई आगामी राजनीतिक सरगर्मी र पार्टीको आन्तरिक संगठन मजबुतीकरणका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =