के होला यी पाँच जनाको उम्मेदवारी ?

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मनोनयन दर्ता भएका उम्मेदवारहरूविरुद्ध भ्रष्टाचार, फौजदारी कसुर र आर्थिक अनियमितताका गम्भीर आरोपसहित उजुरी परेपछि निर्वाचन अधिकृतका कार्यालयहरूमा उम्मेदवारीको वैधतामाथि बहस सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार निर्धारित ‘दाबी-विरोध’ को समयभित्र पाँच जना उम्मेदवारविरुद्ध उजुरी दर्ता भएका छन् । उजुरी पर्नेमा पूर्वप्रधानमन्त्रीदेखि फौजदारी मुद्दामा सजाय पाएका व्यक्तिसम्म छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबीसहित उजुरी परेको छ । यद्यपि, कानुनी रूपमा दोषी ठहर नभई मुद्दा विचाराधीन मात्र रहेको आधारमा उम्मेदवारी खारेज गर्न नमिल्ने भन्दै मुख्य निर्वाचन अधिकृत मनोज केसीले उक्त उजुरी दरपीठ (दर्ता अस्वीकार) गरिदिएका छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली-१ मा उम्मेदवारी दिएका रेशमलाल चौधरीको मनोनयनमाथि पनि गम्भीर कानुनी प्रश्न उठाइएको छ । टीकापुर काण्डमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका र पछि राष्ट्रपतिबाट माफी पाएका चौधरीको उम्मेदवारी ‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२’ को दफा १६ विपरित रहेको उजुरीमा दाबी गरिएको छ । जन्मकैदको सजाय पाएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी प्रावधानलाई उजुरीको मुख्य आधार बनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई उम्मेदवार पनि उजुरीको फन्दामा परेका छन् । भक्तपुर-२ का उम्मेदवार राजीव खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु फर्स्योट नगरेको आरोप लागेको छ भने सुनसरी-२ का लालविक्रम थापाविरुद्ध विद्यालयसँगको कारोबारमा बेरुजु बाँकी रहेको दाबी गरिएको छ । यता, भक्तपुर-२ कै नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्ध नागरिकताको विवरणमा कैफियत रहेको भन्दै उजुरी परेको छ । यी उजुरीहरूमाथि आज (बिहीबार) छानबिन गरी साँझ ५ बजेसम्म निर्णय दिने आयोगको कार्यतालिका छ ।

एउटै दल : दुई उम्मेदवार
यसपटकको निर्वाचनमा राजनीतिक दलहरूभित्रको आन्तरिक व्यवस्थापनमा चरम कमजोरी देखिएको छ । चारवटा निर्वाचन क्षेत्रमा एउटै दलका तर्फबाट दुई-दुई जनाले आधिकारिक पत्र (टिकट) सहित उम्मेदवारी दर्ता गराएका छन् ।

नवलपरासी-२: नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र भीमबहादुर थापा दुवैले आधिकारिक पत्र पेश गरेका छन् ।

सर्लाही-४: नेकपा एमालेबाट रविशंकर कुशवाहा र अमनिशकुमार यादव दुवैको उम्मेदवारी परेको छ ।

सिन्धुली-२: नेपाली कम्युनिस्ट पार्टीका राजन दाहाल र महेश्वर दाहालबीच टिकटको प्रतिस्पर्धा देखिएको छ ।

कैलाली-४: रास्वपाबाट हरिप्रसाद रेग्मी र खेमराज कोइरालाले मनोनयन दर्ता गराएका छन् ।

एउटै दलबाट दुई जनाको दाबी परेपछि निर्वाचन आयोगलाई प्राविधिक रूपमा व्यवस्थापन गर्न कठिन भएको छ । आयोगको सफ्टवेयरले एउटा दलबाट एक जनाको मात्र नाम लिने भएपछि पहिले दर्ता भएकालाई प्रणालीमा र पछि आउनेलाई ‘म्यानुअली’ दर्ता गरिएको छ । आयोगका कानुन महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार, दलको आधिकारिक पत्रको जाँचबुझ र सम्बन्धित पार्टीसँगको परामर्शपछि मात्र यसबारे अन्तिम निर्णय लिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =