कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दौडबाट बाहिरिएका छन् । वि.सं. २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटक भने उम्मेदवार बन्ने छैनन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यसको पुष्टि गर्दै पूर्वप्रधानमन्त्री देउवा आगामी निर्वाचन प्रक्रियामा सहभागी नहुने जानकारी दिएका हुन् । आज (मंगलबार) उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको भए पनि देउवाको उम्मेदवारी नपर्ने निश्चित भएको छ ।

स्रोतका अनुसार, देउवाले आफ्नो गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्न इच्छा देखाउँदै टिकटको दाबी गरेका थिए । तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति र संसदीय बोर्डले उनलाई सक्रिय प्रतिस्पर्धाभन्दा पार्टीको ‘संरक्षक’ र ‘अभिभावक’ को भूमिकामा रहन आग्रह गर्दै टिकट नदिने निर्णय गरेको बुझिएको छ ।

देउवा डडेल्धुराबाट अहिलेसम्म लगातार सात पटक सांसद निर्वाचित भइसकेका अपराजित नेता हुन्  । उनको यो निर्णयसँगै सुदूरपश्चिमको संसदीय राजनीतिमा एउटा युगको अन्त्य भएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =