पूर्वमुख्यमन्त्री सतिश सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा सदस्यसँगै जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको जानकारी दिएका हुन् ।

‘आज विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ । साथै जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने ।

प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले छुट्टै पार्टी दर्ता गराइसकेका छन् । उनले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका हुन् । सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारीमा उनी छन् ।

सिंह २०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो ।

जेनजी आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको विषयमा विवाद उत्पन्न भएको थियो । पछि उक्त विषयमा धारणा फेरेपछि जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै सिंह पार्टीभित्र विवादित बनेका थिए । त्यसयता पार्टीसँग उनको सम्बन्ध सहज रहन सकेको थिएन ।

सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षसमेत रहिसकेका छन् । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४, तिलाठीका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =