दाङ–२ मा रेखा शर्मा चुनाव नलड्ने, शंकर पोखरेललाई राहत !

काठमाडौं । तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेखा शर्मा यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएकी छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार शर्माले २०७९ को निर्वाचनमा पोखरेललाई १९६ मतको अन्तरले पराजित गरेकी थिइन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए ।
यसपटक पनि दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव पोखरेल उम्मेदवार बनेका छन् । माओवादीसहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले भने यहाँ निर्मल आचार्यलाई उम्मेदवार बनाउने करिब टुंगो लागेको छ ।
रेखा शर्माले भने यसपटक चुनाव नलड्ने स्पष्ट पारेकी छन् । दुई पटक समानुपातिक र एक पटक प्रत्यक्ष निर्वाचन जितेर सांसद भइसकेकाले यसपटक उम्मेदवारी नदिने उनको भनाइ छ । ‘म दुई पटक समानुपातिक सांसद भएँ, एक पटक प्रत्यक्ष चुनाव जितेँ । यसपटकको चुनावमा उम्मेदवारी नै दिन्न,’ शर्माले भनिन् ।








