मध्यमार्गी भएकै कारण पार्टीभित्र दबाब खेप्नुपरेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी धारमा उभिएको कारण पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् । उनले मध्यमार्ग र सत्यको बाटो कठिन र अप्ठ्यारो हुने भए पनि अन्ततः जित त्यही बाटोको हुने दाबी गरे ।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले भने ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’ उनले पार्टीभित्र अतिवाद हाबी हुँदै गएको उल्लेख गर्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यमार्गी भूमिकामै अडिग रहने स्पष्ट पारे ।

डा. कोइरालाले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यस्ता बेला मध्यमार्गी भूमिकाले कांग्रेसलाई संकटबाट जोगाउन सक्ने बताए । भेलामा सहभागी नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्योलमा परेको र त्यसको सुनिश्चितता आवश्यक रहेको धारणा राखेका थिए । साथै, तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन नसकिने अवस्था रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा डा. कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा आफू सहभागी हुने जानकारी दिँदै देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताए । उनले नेता तथा कार्यकर्तालाई पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरे ।

उनले निर्वाचन सहजताका लागि माघ ६ गते तोकिएको मनोनयन दर्ताको मिति सार्न निर्वाचन आयोगसँग अनुरोध गरिएको जानकारी दिए । साथै, सरकारले निर्वाचनको अनुकूल वातावरण सिर्जना गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिँदै हालसम्म त्यसको पूर्ण प्रत्याभूति नभएको बताए ।

पार्टीभित्र देखिएको विवाद अदालतमा प्रवेश गरिसकेको उल्लेख गर्दै डा. कोइरालाले अदालतको निर्णय स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनसँगै पार्टीको १५औं महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगबाट अन्याय भए पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =