निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै देउवा पक्षधर नेताहरू सडकमा (तस्बिरहरू)

काठमाडौं । नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।
आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बसी निर्णयलाई अस्वीकार गरेको छ ।
बैठकले आयोगको कदम संविधान, कानून र पार्टी विधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
यसअघि शुक्रवार आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका कार्यकर्ताहरू आयोग परिसरमा विरोध प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरूले नाराबाजी गर्दै आयोगको निर्णयको विरोध गरेका थिए भने गगन थापा पक्षले खुशीयाली मनाएको थियो । देउवा पक्षले देशव्यापी प्रदर्शन र आन्दोलनको चेतावनीसमेत दिएको छ ।
नेपाली काँग्रेसमा गत पुसमा विशेष महाधिवेशनको माग उठेपछि विवाद शुरु भएको थियो । ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आयोजना गरी गगन थापालाई सभापति चयन गरिएको थियो ।
देउवा पक्षले भने उक्त महाधिवेशनलाई विधानविपरीत भएको दाबी गर्दै आएको छ । आयोगले पार्टी विधानको धारा अनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन वैधानिक हुने आधारमा थापा पक्षलाई मान्यता दिएको जनाएको छ ।
यो विवादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समेत असर पर्नसक्ने आशंका गरिएको छ ।
देउवा पक्षले पार्टी कार्यालय नछोड्ने र आफूहरू नै आधिकारिक भएको जिकिर गरेको छ । यता थापा पक्षले एकता र सहकार्यको अपील गर्दै अगाडि बढ्ने बताएको छ ।
काँग्रेसको यो विभाजनले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । दुवै पक्षले कानूनी र सडक संघर्षलाई तिब्र बनाउने संकेत गरेका छन् ।

Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









