सर्वोच्च जाँदै गगनलाई सभापति इन्कार गरेको पक्ष

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक शक्ति संघर्ष अब न्यायालयको ढोकामा पुगेको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले त्यसका विरुद्ध आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूहले आयोगको निर्णयलाई ‘त्रुटिपूर्ण’ ठहर गर्दै कानुनी उपचार खोज्न लागेको हो । ‘हामी आजै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाँदैछौं, कानुनी प्रक्रियाका लागि आवश्यक गृहकार्य पूरा भएको छ,’ मुख्य सचिव पौडेलले भने ।
शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई राजनीतिक र कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने औपचारिक निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कानुनी लडाइँको कमाण्ड तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्हालिरहेका छन् । खड्काले वरिष्ठ अधिवक्ताहरु खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतका कानुनविद्हरुसँग परामर्श गरी रिटको मस्यौदा तयार पारेको छ ।
निर्वाचन आयोगको पछिल्लो कदमले नेपाली कांग्रेसभित्र दुईवटा समानान्तर शक्ति केन्द्र निर्माण भएको छ । सर्वोच्च अदालतले दिने आदेशले नै अब कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वको वैधानिकता निर्धारण गर्ने देखिएको छ ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









