काँग्रेस नेताहरू भन्छन्- ‘काँग्रेस एकताबद्ध हुनुको विकल्प छैन’

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकताबद्ध भएर जानुको विकल्प नभएको बताएका छन् ।

काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकपछि उनले काँग्रेस एकताबद्ध नभएका समस्या आउने बताएका हुन् ।

उनले विशेष महाधिवेशनले सुतेर बसको काँग्रेसलाई जागरूक बनाएको बताए । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठुलो असर गर्ने उनको भनाई छ । उनले पार्टी र देशको लागि एकतवद्ध हुन सबैलाई आग्रह गरे ।

निर्वाचनको लागि उम्मेदवार सिफारिसमा अब भागबण्डा नहुने पनि उनले बताए । टिकटमा अब ६०र४० को भागवण्डा अन्त्य हुने उनको दाबी छ । उनले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेदवार बनाउने बताए ।

उनले भने ‘चुनाव अगाडी एकताबद्ध भएर नेपाली काँग्रेस जानुपर्छ । सुतेर बसेको काँग्रेसमा जागरण आएपनि हामीहरू एकै ठाउँमा उभिन नसके भोली समस्या आउँछ । यो हाम्रो निम्ति मात्रै होइन काँग्रेसको भविष्यको निम्ति हामी एक ढिक्का भएर अगाडी बढौँ । धेरै समय छैन । हामीले भन्दै आएका छौँ । टिकटमा पनि अव ६०÷४० भन्ने चिज अब बाँकी रहेन । जसको नाम सिफारिस भएको छ, जसको जित्ने सम्भावना बढी छ, उहाँहरूलाई टिकट दिने भन्ने हामी सबैको कुरा छ ।’

काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए । विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उनले जोड दिए ।

नयाँ पुरानो नभनी सबै एकजुट भएर निर्वाचनमा होमिन उनले आग्रह गरे । निर्वाचनमा जाँदा नवीन काँग्रेसको मानसिकता बोकेर जानुपर्ने उनले बताए ।

उनले भने ‘विशेष महाधिवेशन नेपाली काँग्रेसको विधान अन्तर्गत आयोजना गरिएको महाधिवेशन हो । महाधिवेशनले एउटा म्याण्डेड दियो । त्यो म्याण्डेडलाई सबैले स्विकार्नुपर्छ । यसमा पुरानो नयाँ भन्ने प्रश्न नै आउँदैन । अहिले सबैका ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ । निर्वाचनमा जाँदाखेरि नवीन नेपाली काँग्रेसलाई लिएर सबैजना जाँदैछन् भन्ने मानसिकताका साथ जानुपर्छ ।’

काँग्रेस नेताहरूले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाई अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । काँग्रेसमा लामो समयदेखि योगदान पुर्याउने नेताहरूलाई सम्मानका साथ उचित भूमिका दिनुपर्नेमा आफूहरू स्पष्ट रहेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =