नेतृत्व परिवर्तनलाई सुजाताको साथ- पार्टी फुटेको होइन, गगनको आगमनलाई स्वीकारौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी नेतृत्वमा आएको परिवर्तनलाई जनताको चाहनाको उपज भन्दै स्वागत गरेकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेसभित्रको फेरबदललाई सहज रूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् ।
कोइरालाले पार्टी फुटेको भन्ने तर्कलाई पूर्णतः अस्वीकार गरेकी छन् । नेतृत्व परिवर्तन समयभन्दा केही अगाडि मात्र भएको तर पार्टीको मूल संरचना यथावत रहेको उनको बुझाइ छ । नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनले भनिन्, ‘नयाँ सभापति आउनुभएको छ, अलि छिटो आउनुभयो, फरक त्यति मात्रै हो । पार्टी फुटेको जस्तो मलाई लाग्दैन ।’
नेतृ कोइरालाले नयाँ नेतृत्वलाई बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाले सुदृढ गरेको संगठनलाई नबिर्सी अघि बढ्न सुझाव दिएकी छन् । उनले भनिन्, ‘तपाईंलाई सम्पूर्ण कांग्रेसजन र जनताको साथ रहनेछ । अब देशको उन्नति र कांग्रेसको सुदृढीकरणमा लाग्नुस् ।’
पार्टी कार्यालय, चारतारे झण्डा, चुनाव चिन्ह (रुख) र कार्यकर्ताहरू उही रहेकाले पार्टी विभाजन भएको भ्रममा नपर्न उनले सबैलाई आग्रह गरेकी छन् । नेतृत्व परिवर्तन हुँदैमा आत्तिनु नपर्ने भन्दै उनले असन्तुष्ट पक्षलाई कानुनी व्याख्यामा नअल्झिई संयमित हुन सुझाइन् ।
‘तपाईंहरू किन डराउनुहुन्छ ? अर्को चुनाव आउँदै छ, त्यसमा सहभागी भएर फेरि नेतृत्व परिवर्तन गर्न सकिन्छ,’ उनले भनिन्, ‘अहिले नआत्तिनुस्, नतर्सिनुस् र खुसी भएर यो परिवर्तनलाई स्वीकार गर्नुस् ।’ मुलुकले चाहेको परिवर्तनलाई आत्मसाथ गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा उनको जोड थियो ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









