आधिकारिता गुमेपछि देउवा पक्षको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षले नयाँ मोड लिएसँगै शेरबहादुर देउवा पक्षीय समूहले आज आकस्मिक बैठक आह्वान गरेको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न देउवा पक्षका नेताहरू सानेपामा भेला हुन लागेका हुन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान बस्ने गरी सानेपामा बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए । सोही महाधिवेशनको वैधानिकता र बहुमतको दाबी गर्दै थापा पक्षले आयोगमा बुझाएको कागजातका आधारमा निर्वाचन आयोगले उनीहरूलाई आधिकारिकता दिएको हो ।

आयोगको यो फैसलासँगै नेपाली कांग्रेसको ऐतिहासिक निर्वाचन चिह्न ‘रुख’ र चारतारे झण्डाको कानुनी अधिकार देउवा पक्षबाट गुमेको छ । लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आएको देउवा समूहका लागि आयोगको यो निर्णय निकै ठूलो धक्का मानिएको छ ।

देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई पूर्वाग्रही र गैरकानुनी भन्दै ठाडै अस्वीकार गरेको छ । आफूहरू नै विधिसम्मत र वास्तविक कांग्रेस भएको जिकिर गर्दै आएको यो समूहले आयोगमा पनि छुट्टै दाबी पेश गरेको थियो । तर, आयोगले थापा पक्षलाई आधिकारिकता दिएपछि अब कसरी अगाडि बढ्ने, कानुनी उपचार (अदालत) खोज्ने कि राजनीतिक प्रतिवाद गर्ने भन्ने विषयमा आजको बैठक केन्द्रित रहने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =