मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले विराटनगरको देवकोटा चोकस्थितस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरे । योसँगै आजै मोरङका छवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
वेलबारी, उर्लाबारी, रतुवामाई नगरपालिका, विराटनगरको कोशी प्रोजेक्ट तथा विराटनगरको पोखरियास्थित बाल उद्यान केन्द्र तथा जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत प्रसाईँले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाइएको जानकारी दिए । यही माघ ४ गते आगामी निर्वाचन सम्बन्धमा जिल्लाका सबै राजनीतिक दलहरूसँग सर्वदलीय छलफल गर्ने उनले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक एसपी कबित कटवाल, प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गाललगायतको सहभागिता थियो ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङको छवटा निर्वाचन क्षेत्रमा ३०६ वटा मतदानस्थल र ८८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
मोरङमा सात लाख ८३ हजार ५० मतदाता रहेका छन् । त्यसमध्ये पुरुष तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ तथा अन्यमा सात जना रहेको निर्वाचन कार्यालयका प्रमुख दङ्गालले बताए ।









