विवाद हुनुपूर्वको बहुमत केन्द्रिय समितिनै आधिकारिक : खम्मबहादुर खाती

काठमाडौं । नेपाली काँग्रेसका निर्वाचन समिति संयोजक खम्मबहादुर खातीले पार्टीको आधिकारिता र अद्यावधिकका सम्बन्धमा गगन थापा पक्षको कुनै कानुनी हैसियत नरहेको दाबी गरेका छन् । शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिकता सम्बन्धी छलफलका लागि पुगेका उनले विवाद सिर्जना हुनुभन्दा पूर्वको केन्द्रीय कार्यसमितिको बहुमतले नै पार्टीको नाम, झण्डा र चिह्न पाउने जिकिर गरे ।

निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरू समेत अहिले पछि हटेको बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ (ख) को व्यवस्था उल्लेख गर्दै उनले भने, ‘यदि पार्टीमा विवाद उत्पन्न भएमा विवाद हुनुभन्दा पूर्वको केन्द्रीय कार्यसमितिको बहुमत जे छ, त्यसैले निर्वाचन चिह्न, पार्टी र झण्डा प्राप्त गर्ने स्पष्ट व्यवस्था छ । त्यसैले हामी पूर्ण रूपमा ढुक्क छौँ ।’

संयोजक खातीले १६७ जना केन्द्रीय सदस्यमध्ये १२३ जना आफूहरूसँगै रहेको तथ्याङ्क प्रस्तुत गरे । उनले विशेष महाधिवेशनको माग गर्ने पक्षसँग ५१ प्रतिशत प्रतिनिधि समेत नरहेको दाबी गर्दै विधान विपरीत अधिवेशन बोलाइएको आरोप लगाए । भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गर्दै उनले निर्वाचन आयोगले संविधान, प्रचलित ऐन र प्रमाणका आधारमा न्यायपूर्ण निर्णय लिनेमा आफू विश्वस्त रहेको बताए ।

पार्टी अद्यावधिकका नाममा दफा ५१ को प्रयोग गरेर आयोग आउनुको कुनै अर्थ नरहेको उनको तर्क छ । उनले भने, ‘संविधान र कानुनभन्दा बाहिर गएर गरिने कुनै पनि निर्णय वा दाबी मान्य हुँदैन । मिडियामा के आयो भन्ने कुरा गौण हो, मुख्य कुरा ऐन र कानुनले के भन्छ भन्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =