ललितपुरको नकबहिलमा बौद्ध धर्मालम्वीहरुले मनाए लसता सम्यक महादान

काठमाडौं । बौद्ध धर्मालम्वीहरुले ललितपुर– १६ नकबहिलमा लसता सम्यक महादान पर्व मनाएका छन् ।
हरेक ५ वर्षमा मनाइने लसता सम्यक महादान पर्व लोकाकीर्ति महाविहार संरक्षण समिति, नकबहिल टोल विकास समिति र न्यकू जात्रा मतयाः सञ्चालन समितिको आयोजनामा मनाइएको हो । यो पर्वमा दीपंकर बुद्ध स्थापना गरी पूजा तथा होम गर्ने चलन रहेको स्थानीय हिरण्यनरसिंह शाक्यले जानकारी दिए ।
नेपाल संवत १०४७ मा बाघनरसिंह शाक्य लामा आजूले दीपकर तथागत स्थापना गरी संवेग महादान दिएको १०० वर्षमा प्रवेश गरेको अवसरमा लसता सम्यक महादान गरेको उहाँले जानकारी दिए ।
दीपंकर बुद्धलाई श्रद्धा व्यक्त गरेर प्रदान गरिने दान नै सम्यक महादान पर्व हो । महादानमा उपत्यकाका विभिन्न महाविहारका देवीदेवतामूर्तिहरू पूजाका लागि भेला गरिएको छ ।
बज्रयानी बौद्ध परम्पराअनुसार मौलिक पोशाकमा सज्जिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजुलाई दान दिँदै सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत दान दिइन्छ ।
यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ ।
सम्यक् दानमा खीर, लाखामरी सहितका मिठाइका परिकार, रोटी, फलफूल आदि राखिन्छ । यसरी दान दक्षिणा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।









