सुनसरीमा ट्रक दुर्घटना हुँदा मार्बलले किचिएर पाँच मजदुरको मृत्यु

काठमाडौं । सुनसरीको भोक्रहा नरसिंहमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा परी पाँच जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । विराटनगरबाट मार्बल लोड गरी हुलाकी राजमार्ग हुँदै पश्चिमतातर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।

भोक्राह नरसिंह-८ स्थित फूलचोकमा भएको यस दुर्घटनामा मृत्यु हुनेहरू सबै ट्रकको पछाडि मार्बलमाथि सवार कामदारहरू रहेका छन् । ट्रक पल्टिएसँगै त्यसमा लोड गरिएको भारी मार्बलले थिचिएका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतकहरूको सनाखत हुन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा ट्रक चालकसहित अन्य दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार ढुवानीका क्रममा अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको गम्भीर उल्लंघन नै दुर्घटनाको मुख्य कारण देखिएको छ । मालवाहक ट्रकमा सामग्रीमाथि नै मजदुरहरूलाई राखेर यात्रा गराउनु र ओभरलोडका कारण ट्रक अनियन्त्रित हुनुले घटना निम्त्याएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =