सिन्धुलीमा नकावधारीले लुटे बैंकको तीन करोड, सुमो चालक पक्राउ

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहले लुटपाट मच्चाएको छ । मुकुण्डो लगाएर आएका ६ जनाको लुटेरा समूहले बैंकका सुरक्षागार्डमाथि सांघातिक आक्रमण गर्दै ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार भएका हुन् ।
मंगलबार साँझ करिब ७ देखि ७:४५ बजेको बीचमा बैंकभित्र प्रवेश गरेका लुटेराहरूले त्यहाँ कार्यरत कर्मचारीहरूलाई नियन्त्रणमा लिई डोरीले बाँधेका थिए । सोही क्रममा लुटेरा समूहले सुरक्षागार्ड रुद्र कार्कीमाथि धारिलो हतियार प्रहार गरी उनको हात काटिदिएका छन् । बैंकको सेफमा रहेको ठुलो परिमाणको नगद बोरामा भरेर लुटेराहरू नजिकैको जंगलतर्फ भागेका थिए । घाइते गार्डको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
लुटपाटको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीय बासिन्दाले जंगल क्षेत्रमा गरेको सघन खोजीका क्रममा लुटेराले फालेर भागेका बोराहरू फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद भएको छ । यस्तै, लुटेराहरू चढेर आएको टाटा सुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक काभ्रेको बनेपाका बासिन्दा रहेको र बाँकी लुटेराहरू पनि बनेपाबाटै योजनाबद्ध रूपमा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । लुटेराहरू जंगलतर्फ भागेकाले सो क्षेत्रलाई घेराबन्दी गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ‘हामीले लुटेराहरू आएको सवारी साधन र चालकलाई नियन्त्रणमा लिइसकेका छौँ, बाँकी रकम र फरार अपराधीहरूको खोजीमा प्रहरी टोली परिचालित छ,’ एसपी सुवेदीले भने ।









