देउवालाई गगनको आग्रह: विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरूलाई पुनः आग्रह गरेका हुन् ।
उनले कार्यक्रममा सहभागिता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरूले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरूसँग डराएर आउन नसकेको जिकिर समेत गरे ।
महामन्त्री थापाले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्याउन नसक्ने दाबी समेत गरे ।
उनले भने ‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईँहरूको सहभागिता अहिले पनि हामीले अनुरोध गरिरहेका छौ । यो भनिरहँदा अहिले थुप्रै साथीहरूले मलाई सम्पर्क गरिराख्नु भएको छ । कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ । कोही भित्र सम्पर्क गरिराख्नु भएको छ । यहाँ मान्छे पठाएर भनिराख्नु भएको छ । आउन चाहनु भएको छ । तर जिल्लाका नेताहरूसँग डराउनु भएको छ ।’
महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि काँग्रेस जागेर अघि बढ्नुपर्ने बताए ।









