जिताउने हातहरू नै विपक्षमा

वैधानिक संकटमा सभापति देउवा, अब के गर्लान् ?

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा एक अस्वाभाविक र पेचिलो मोड देखा परेको छ । चार वर्षअघि १४औं महाधिवेशनमा जसले शेरबहादुर देउवालाई ६० प्रतिशत मत खन्याएर सभापतिमा आसिन गराए, आज तिनै ‘किङमेकर’ प्रतिनिधिहरू देउवाको विपक्षमा उभिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा देखिएको उपस्थितिले देउवाको विगतको पकड गुमेको मात्र संकेत गरेको छैन, उनीमाथि पद छाड्न वा निकास दिन ठूलो नैतिक एवं राजनीतिक दबाब सिर्जना गरेको छ । १४औं महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइराला अहिले मौन वा संस्थापनकै लाइनमा देखिँदा पनि ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू भने ‘नीति र नेतृत्व’ परिवर्तनको एजेन्डा बोकेर विशेष महाधिवेशनको कित्तामा उभिएका छन् ।

आइतबार राति ९ बजेसम्मको अभिलेखअनुसार कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये २ हजार ६ सय ६२ जनाले विशेष महाधिवेशनमा नाम दर्ता गराइसकेका छन् । आयोजक पक्षले सम्पर्कमा रहेका थप प्रतिनिधिसहित उपस्थितिको प्रतिशत ६० नाघ्ने दाबी गरेको छ । सोमबार बिहानबाट पुनः नाम दर्ता खुल्ने भएकाले यो संख्या अझै बढ्न सक्ने देखिन्छ । आफ्नै मतदाताहरू नेतृत्वको विकल्प खोज्दै एक ठाउँमा भेला भएपछि सभापति देउवा रक्षात्मक अवस्थामा पुगेका छन् ।

संस्थापनको प्रतिवाद र देउवाको दोधारे मनस्थिति
यता, पार्टी प्रवक्ता प्रकाशशरण महत भने विशेष महाधिवेशनलाई ‘अवैधानिक’ र ‘औचित्यहीन’ बताउँदै आएका छन् । कार्यसम्पादन समितिले यसअघि नै यसलाई अवैधानिक ठहर गरिसकेको भन्दै उनले सभापति वा कार्यवाहक सभापति उपस्थित भएर स्वामित्व लिने सम्भावनालाई नकारेका छन् । ‘बहुमत नपुग्ने भएपछि घरमा बसेकालाई समेत बोलाउन थालिएको छ,’ महतको दाबी छ ।

तर, भित्री रूपमा सभापति देउवामा छटपटी बढेको  छ। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र शेखर कोइरालासँग निरन्तर परामर्श गरिरहेका छन् । संस्थापन पक्षकै एक खेमाले आसन्न आमनिर्वाचनको मुखमा विवाद लम्ब्याउनु प्रत्युत्पादक हुने भन्दै देउवालाई निकास दिन सुझाइरहेको छ भने अर्को समूहले ‘जबर्जस्ती बहुमत देखाइएको’ भन्दै नझुक्न दबाब दिइरहेको छ ।

‘कांग्रेस लासहरूको होइन, जिउँदा मान्छेको पार्टी हो’
विशेष महाधिवेशनको मञ्चबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको प्रष्ट सन्देश दिएका छन् । महामन्त्री थापाले सभापति देउवालाई २०१४ सालमा सुवर्णशमशेरले बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गरेको इतिहास स्मरण गराए । ‘युद्ध जित्न कहिलेकाहीं लडाइँ हार्नुपर्छ। हामी डढ्न तयार छौं तर कांग्रेसलाई सही ठाउँमा उभ्याएरै छाड्छौं,’ थापाले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदो मान्छेहरूको पार्टी हो । जहाँ प्रश्न मर्छ, त्यसले समाधान दिन सक्दैन ।’

उनले हलबाट आउने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताए । अर्का महामन्त्री शर्माले विशेष महाधिवेशनलाई ‘भीड’ नभई कांग्रेस बदल्ने ‘जमात’ को संज्ञा दिए। उनले भदौ २३ पछि विकास भएको राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सुशासनको संकल्पसहित अघि बढ्ने उद्घोष गरे ।

पुराना सारथीको साथ र बन्दसत्रको तयारी
विशेष महाधिवेशनमा देउवाका लामो समयदेखिका विश्वासपात्र मानिने पूर्वउपसभापति गोपालमान श्रेष्ठको उपस्थिति र अभिव्यक्तिले संस्थापन पक्षलाई झस्काएको छ । श्रेष्ठले ‘इतिहासको ब्याजले भविष्य नबन्ने’ भन्दै देउवालाई हठ त्याग्न सुझाव दिए । पूर्वसभामुख तारानाथ रानाभाटदेखि विभिन्न खेमाका नेताहरू एकै ठाउँमा देखिनुले पनि असन्तुष्टिको दायरा फराकिलो भएको देखाउँछ ।

सोमबार बिहान १० बजेदेखि सुरु हुने बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । महामन्त्रीद्वयको प्रतिवेदनमाथि ८ वटा समूहमा छलफल हुने कार्यतालिका छ । विशेष महाधिवेशनका पक्षधर नेता गुरुराज घिमिरेका अनुसार नेतृत्व चयन नै मुख्य एजेन्डा भएकाले संस्थापन पक्षको रवैया हेरेर प्रतिनिधिहरूले हलबाटै कठोर निर्णय लिन सक्ने सम्भावना पनि उत्तिकै छ ।

अन्य महाधिवेशनको तुलनामा निकै व्यवस्थित र अनुशासित देखिएको यो भेलाले कांग्रेसभित्रको शक्ति सन्तुलनमा उथलपुथल ल्याउने निश्चित छ । देउवाले समयमै निकास दिन्छन् वा प्रतिनिधिहरूले विद्रोहको बाटो रोज्छन्, त्यो सोमबारको बन्दसत्रले तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =