कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आज साँझ नयाँ मन्त्रीहरूको शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

नयाँ मन्त्रीहरूको शपथग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय निर्धारण गरिएको छ ।

वर्तमान सरकारमा रहेका सबै मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने समझदारी गरेपछि आजै शपथग्रहणको टुंगो लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

हाल सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम छन् ।

मन्त्रीहरूले आजै राजीनामा दिने एमाले नेता तथा आन्तरिक मामिला मन्त्री भण्डारीले पुष्टि गरेका छन् ।

राजीनामापछि एमालेबाट विदुर लिङ्थेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली र रामकुमार महतो मन्त्री बन्दैछन् । लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसैगरी उमाकान्त गौतम राज्यमन्त्री बन्नेछन् ।

कांग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी मन्त्री बन्दैछन् । सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रालयको भागबण्डा भने पुरानै रहनेछ । ‘मन्त्रालय उही हुन्, व्यक्ति मात्र फेरिने तयारी हो,’ स्रोतले भन्यो, ‘फेरिने भनिएको धेरै भयो, अब कार्यान्वयन हुँदैछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =