एमालेमा ईश्वर पोखरेलको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा एमालेले नेता ईश्वर पोखरेलको महत्वपूर्ण जिम्मेवारी खोसेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु प्रसाद रिमाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले नै पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो,’ ओलीको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।’
एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर उनी केन्द्रीय सदस्यमा नै पराजित भएका थिए । केन्द्रीय सदस्यमै हारेका रिमाललाई अब ईश्वर पोखरेलले सम्हाल्दै आएको नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ ।
ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । ‘भर्खरै महाधिवेशन सकिएको छ, चुनाव नजिकै आइरहेको छ । यस्तो बेला पार्टीलाई एकताबद्ध बनाउन पनि ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउनु हुन्न,’ असहमति राख्ने पदाधिकारीहरूको भनाइ थियो ।
तर अध्यक्ष ओली आफूसँग अध्यक्ष पदमा भिडेका पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा अडिग रहेका थिए । अन्ततः बैठकले ओलीको प्रस्तावलाई अनुमोदन गरेको छ ।









