काठमाडौंको तापक्रम घट्दै, तत्काल पानी नपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा चिसोको पारो ओर्लिने क्रम ह्वात्तै बढेको छ । मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएकाे छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला केही दिनयता उपत्यकाको तापक्रम निरन्तर घट्दो क्रममा छ । शनिबार ४.७ डिग्री सेल्सियस रहेको तापक्रम आइतबार ४ र सोमबार ३.५ डिग्रीमा झरेको थियो । आज (मंगलबार) बिहान ५:४५ बजे मापन गर्दा त्यो अझ घटेर ३.४ डिग्री पुगेको मौसमविद् डेभिड ढकालले जानकारी दिए । यद्यपि, जनवरी ६ को ऐतिहासिक सरदर न्यूनतम तापक्रम (२.२ डिग्री सेल्सियस) को तुलनामा भने यो अझै केही बढी नै हो ।
पहाडमा चिसो बढ्दा तराई-मधेशका जिल्लाहरूमा पनि बिहानपख बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईमा बाक्लो हुस्सुका कारण शीत चुहिँदा (डिपिङ) जनजीवन कष्टकर बने पनि मौसमविद्हरूले यसलाई प्राविधिक रूपमा ‘शीतलहर’ भनिहाल्ने अवस्था नरहेको बताएका छन् । मध्याह्नपछि घाम लाग्ने भएकाले अधिकतम तापक्रममा ठूलो गिरावट आएको छैन ।
जाडो बढे पनि हिउँदे वर्षाको सम्भावना भने तत्काल देखिएको छैन। महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशमा ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली सक्रिय हुने छैन । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा फाट्टफुट्ट हिमपातको सम्भावना रहे पनि अन्यत्र मौसम सफा रहनेछ ।









