देशभरका भन्सार नाकामा लागू भएको अनलाइन मूल्यांकन डाटाबेस प्रणालीले कसरी काम गर्छ ?

काठमाडौं । सरकारले भन्सारमा जाँचपासमा लागू हुँदै आएको सन्दर्भ मूल्य पुस्तिकालाई खारेज गरेर अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि कसरी काम हुन्छ ? भन्नेमा केही दुविधा पनि देखिएको छ ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भदौ ८ गतेबाट विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज हुँदै चोभार, त्रिभूवन विमानस्थल भन्सार कार्यालय लागू गरिएको अनलाइन मूल्यांकन डाटाबेस प्रणाली बाँकी रहेका १८ वटा भन्सार कार्यालयहरुमा कार्यान्वयन गएको बताए ।
भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्चहरु जोडेर कायम हुने मूल्य नै कारोबार मूल्य हो । त्यो मूल्यमा भन्सारले मालवस्तु जाँचपास थालेको छ ।
उनकाअनुसार विगतका दिनहरुमा सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिजकहरु प्रश्तुत हुने गरेका थिए ।
भन्सार आफैँले सन्दर्भ मूल्यमा कुनैपनि वस्तुको मूल्य मिल्छ भने त्यसमा त्यति खोजिनिति गरिँदैन थियो । तर अब यो प्रणाली लागू भएपछि स्वतः व्यवसायीलाई इमान्दार बन्न दबाब सिर्जना भएको छ ।
निजी क्षेत्रले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यता अन्त्य गर्दै व्यवसायी यो परिवर्तनअनुरूप वास्तविक कारोबार र सही कागजात मात्र पेश गरी इमान्दार हुनुपर्ने भण्डारीले बताए ।
महानिर्देशक भण्डारीले भन्सार प्रशासनसँग विगत २७ वर्षदेखि निजी क्षेत्रले माग गरेको सन्दर्भ मूल्य हटाउनुपर्ने, व्यापारको लागत बढायो, बिलिङहरु जारी गर्न सकेनौँ भन्ने व्यवसायीका मागहरु सम्बोधन भएको बताए ।









