चितवनमा तोरी चोर्न जाने भगवान् श्रीकृष्णलाई बाधेर राखिएको ऐतिहासिक मकवानपुर गढी (तस्बिरहरू)

मकवानपुर । समुन्द्र सतहबाट १०१७ मिटरको उचाईमा रहेको मकवानपुर गढी धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको छ ।
हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ संगै रहेको मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनु पूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ ।
मकवानपुर गढीभित्र बाल (वंश) गोपालको मन्दिर छ । मन्दिरभित्र भगवान् कृष्णको मूर्तिलाई फलामे साङ्लोले बाँधेर राखिएको देख्न सकिन्छ । मन्दिरको केही तल भने एउटा गुफा रहेको छ ।
धार्मिक कथन अनुसार त्यही गुफाबाट भगवान् श्रीकृष्ण चितवनमा तोरी माड्न जान्थे । जुन ठाउँलाई अहिले चितवनमा माडी भनिन्छ ।
कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई पुजारी र गाउँलेले मिलेर बाँधेर राखेको किम्वदन्ती रहेको छ ।
परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।
सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास पनि रहेको छ ।
सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।
मकवानपुर गढी राजा तुला सेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठुलो गढी, सानो गढी र डुङ्गेगढी । ठूलोगढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू रहेका छन् भने ठुलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमी उत्तर पूर्वमा ढुङ्गे गढी छन् ।
तस्बिरहरू–









