काठमाडौंमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

काठमाडौंराजधानी काठमाडौँमा आज (शनिबार) नवनिठत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ । बागमती, विशेष र सम्पर्क प्रदेश कमिटीको संयुक्त आयोजनामा हुने यस सभालाई पार्टीले शक्ति प्रदर्शनको रूपमा समेत लिएको छ ।

भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजारभन्दा बढी जनसहभागिता रहने दाबी आयोजकले गरेको छ । गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटकहरू मिलेर बनेको नेकपाले एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन यो सभा गर्न लागेको हो ।

नेता रामकुमार भट्टराईका अनुसार, सभाअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिनेछ। बिहान ११ः३० बजे सुन्धारा, न्युरोड गेट र शान्ति वाटिकामा कार्यकर्ता तथा शुभचिन्तकहरू भेला हुनेछन् । सबैतिरबाट जम्मा भएको जनसागर एकीकृत भई दिउँसो सवा १२ बजे मुख्य जुलुस अघि बढ्ने तालिका तय गरिएको छ । उक्त जुलुस बागबजार, पुतली सडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा परिणत हुनेछ । जुलुसको नेतृत्व पार्टीको दोस्रो तहका नेताहरूले गर्नेछन् भने शीर्ष नेताहरू सिधै मञ्चमा पुग्ने कार्यक्रम छ ।

भृकुटीमण्डपको तीनकुने सडकमा हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । विशेष गरी पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम र भीम रावल लगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

मंसिर १२ गतेदेखि सातै प्रदेशमा सन्देश सभा र शक्ति प्रदर्शन गर्दै आएको नेकपाले काठमाडौँको सभालाई विशेष महत्त्वका साथ हेरेको छ । यसअघि नै १२ कम्युनिस्ट घटक एक भई बनेको यो पार्टीले देशव्यापी माहोल सिर्जना गर्न अभियान चलाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =