नेपालको बीमा दिगो छैन : स्वास्थ्यमन्त्री गौतम

काठाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारी अस्पतालमा भएका आधारभूत सेवाहरूलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन् ।
आधारभूत सेवाहरू स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भएपनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उनको भनाई छ । ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभूत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भीड बढ्ने गरेको उनले बताइन् ।
अस्पतालमा हुने भीडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उनको भनाई छ । उनले आम नागरिक र बीमा बोर्डमा पनि बीमाबारे बुझाइको कमी रहेको भन्दै यसबारे स्पष्ट हुन जरुरी रहेको बताइन् ।
अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पु¥याउने भन्ने ध्येयका साथ आफूहरूअघि बढिरहेको बताइन् ।
उनले भनिन्, ‘हाम्रो आधारभूत सेवाहरू राम्रोसँग सञ्चालन गरौँ । बीमा चाँडै नै नेपालभित्रका हाम्रा अस्पतालहरूका समस्या र बीमा बोर्डमै पनि बुझाइको कमी र समग्र नागरिकमा यो आधारभूत बीमा तलैबाट लिने हो भन्ने बुझाइको कमीले गर्दा यो अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुग्ने भन्ने हो । मैले भारत लगायत अन्य देशहरूको उदाहरणहरू हेर्दै छु । ती उदाहरणबाट सिकेर पनि हामी केही न केही परिवर्तन गर्नेछौँ । हाम्रो बीमा सस्टेनेबल छैन । त्यो दिशामा जाने सोचिरहेको छु । मेरो स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा बीमा क्षेत्र पनि छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च छ । त्यसमा अत्याधिक प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको छु ।’
उनले लुम्बिनी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै यी क्षेत्रमा अत्याधिक प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको दाबी गरिन् ।









