नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवा सुविधामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले नेपाल बैंक लिमिटेड र ललितपुर थसिखेलस्थित पाटन हेल्थ ल्याब प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता भएका ग्राहकहरूलाई पाटन हेल्थ ल्याबमार्फत प्रदान गरिने विभिन्न प्याथोलोजी सेवा, विविध हेल्थ प्याकेज तथा अन्य परीक्षण सेवाहरूमा १० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । साथै, आवश्यक परीक्षणका लागि निःशुल्क होम डेलिभरी सेवा पनि प्रदान गरिनेछ ।
सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. का प्रबन्ध निर्देशक सरिता खड्काबीच हस्ताक्षर भएको बैंकले जनाएको छ ।
यो सम्झौताले नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूलाई सहज, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।








