हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह सम्पन्न, ९०३ विद्यार्थी दिक्षित

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले राजधानीस्थित होटल याक एण्ड यतीमा आफ्नो वार्षिक दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
समारोहमार्फत कूल ९०३ विद्यार्थी दिक्षित भएका छन् । जसमा ६९७ जना BSc (Hons) Computer Science (BCS), ५२ जना BSc (Hons) International Business Management (BIBM) तथा २०६ जना International Master of Business Administration (IMBA) स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू रहेका छन् ।
यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (ING) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कॉलरशिप निरन्तरता दिँदै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । २०२५ को स्कॉलरशिप ‘हेराल्ड कलेज – BSc (Hons) Computer Science’ का विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको हो । स्कलरशिप प्राप्त गरेसँगै शर्माले अब इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन गर्ने अवसर पाउनेछन् । साथै, उनीले ING अन्तर्गतका संस्थाहरूमा रोजगारीको अवसर समेत प्राप्त गर्नेछन् ।
समारोहमा आफ्नो मुख्य सम्बोधन गर्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजका स्नातकहरू नेपालका सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित संस्थाहरूमा उल्लेखनीय भूमिकामा कार्यरत रहेको बताए । वेलायती विश्वविद्यालयको डिग्रीले विश्वस्तरको गुणस्तर प्रदान गर्ने उल्लेख गर्दै उनले भने,“यही शैक्षिक वातावरणले विद्यार्थीमा स्वअध्ययन र अनुसन्धान गर्ने संस्कृतिलाई अझ सबल बनाएको छ ।”
दीक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा मनाइएको कलेजले जनाएको छ । हेराल्ड कलेज काठमाडौंले २०२५ मा उत्तीर्ण भएका सबै दिक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ ।








