जितपछि लुम्बिनीको प्लेअफ सम्भावना जीवन्त

काठमाडौँ । रोहितकुमार पौडेलको ब्याटिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जितसँगै प्लेअफ सम्भावना जीवन्त राखेको छ ।

कीर्तिपुरमा भएको आफ्नो पाँचौँ खेलमा लुम्बिनीले शनिवार पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जितसँगै प्लेअफ सम्भावना कायमै राखेको हो ।
लुम्बिनीको जितमा कप्तान रोहितको इनिङ जितको आधार बन्यो । लुम्बिनीको पाँचौँ खेलमा यो दोस्रो जित हो ।

बलिङमा लय जारी राख्न नसक्दा पोखराले चौथो खेलमा तेस्रो हार सामना गर्यो । त्रिवि क्रिकेट मैदानमा पोखराले एक सय ५१ रनको लक्ष्य दिएको थियो । खराब सुरुआत गरे पनि लुम्बिनीले १९।४ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो । कप्तान रोहितले ४० रन जोडे । यो नै सर्वाधिक व्यक्तिगत रन रह्यो । उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

कमजोर स्थितिमा पुगेको लुम्बिनीको इनिङलाई उनले राम्रो साझेदारी दिँदै जितको आधार बनाए । एक समय लुम्बिनी २२–२ को स्थितिमा थियो । तर, रोहितले तेस्रो विकेटका लागि निरोशान डिकवेलासँग ५४ रनको साझेदारी गरे । निरोसानले २२ बलमा ३७ रन जोडे । उनको इनिङमा दुई चौका र दुई छक्का रह्यो । त्यसअघि ओपनरद्वय डार्सी सर्टले ७ रनमा र सुमित महर्जन डक आउट भए । त्यसपछि रोहित र निरोशानले इनिङ समाले । यी दुई आउट भएपछि लुम्बिनीको इनिङ फेरि कमजोर बन्यो । तर, सन्दी जोरा र गुल्बदिन नइबले इनिङ अगाडि बढाए । जोरा २२ बल खेल्दै २५ रनमा अविजित रहे । उनले दुई चौका र एक छक्का प्रहार गरे । नैबले ११ बलमा १७ रन जोडेर आउट भए ।

उनले दुई छक्का हिर्काए । त्यसअघि दिलीप नाथ १० र रुबे ट्रम्पलमेन ९ रनमै पभेलियन फर्किए । पोखराको बलिङमा विपिन खत्री, म्याट टेलर र सागर ढकालले समान दुई थगा जिमी निसमले एक विकेट लिए पनि लुम्बिनीको जित रोक्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । शीर्ष क्रमका पाँच चार ब्याटर सस्तै आउट भएपछि पोखराको सुरुआत राम्रो भएन । ओपनर दिनेश खरेल ७ रन, कप्तान कुशल भुर्तेल र सुमित बर्मा शून्यमा, तृतराज दास १ रनमा नै आउट भए । एक छेउबाट एडम रोसिङ्टनले इनिङ समाले । तर, अर्को छेउबाट लगातार विकेट पतन भयो ।

७।६ ओभरमा पोखरा ३३÷४ को नाजुक अवस्थामा पुग्यो । यद्यपि, पाँचौँ विकेटका लागि महत्त्वपूर्ण साझेदारी बनेपछि पोखराले राम्रो योगफल बनाएको हो । सातौँ नम्बरमा आएका जिमी र ओपनर रोसिङटनले पाँचौँ विकेटका लागि ९२ रनको साझेदारी गरे । रोसिङटनले ६३ बलमा ८१ रन बनाए । उनको इनिङमा पाँच छक्का र सात चौका थियो । निसमले ५१ रनको अर्धशतकीय इनिङ खेले । निसमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीको बलिङमा शेर मल्ल र तिलक भण्डारीले समान दुई विकेट लिए । नैइबले एक विकेट लिए । लुम्बिनीको जितमा कप्तान रोहित प्लेअर अफ दी म्याच पनि भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =