हामीप्रति नागरिकको आकर्षण बढ्दो छ, सुदूरपश्चिममा तिसौँ हजार उतार्छौं : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको बताएका छन् ।
बिहीवार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताए । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ’ उनले भने ।
शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी गरे । ‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौँ ।धनगढीमा सुदूरपश्चिमका नेताहरु बसेर दशौँ, बिसौँ हजार भन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरुः तपाईंहरुको परीक्षा त्यहीँ हुन्छ’ उनले भने ।
सहसंयोजक नेपालले आफूहरुले जनताको मन र विश्वास जितेको बताए ।








