विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिनू: शिक्षामन्त्री पुन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षक र विद्यालय सहयोगीका लागि तलब संघीय अनुदानबाट पठाइसकेको मन्त्री पुनले जानकारी दिए ।
उनले बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने बताए ।
उनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन् ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रु. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने हो ।’
उनले अहिलेसम्म झन्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक अनुसार तलब खुवाएको जानकारी मन्त्रालयलाई आएको बताए ।
उनले यस विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराए ।
बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्न मन्त्री पुनले आग्रह गरेका छन् ।








