खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकियोः सचिव शर्मा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा उनले राष्ट्रिय राजमार्गका १ करोडमाथिको शीर्षकका बजेट रोकिएको जानकारी दिए ।
उनले खर्च कटौतीले सबैभन्दा बढी साना सहायक सडकहरू परेको बताए । खर्च कटौतीको कारणले २० अर्ब रुपैयाँ रोकिएको उनको भनाई छ । उनले ३ करोड रुपैयाँ भन्दा कमका योजना रोकिने भएकोले राष्ट्रिय राजमार्ग कै रकम पनि रोकिएको कारण समस्या भएको बताए ।
राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याउन नमिल्ने उनको भनाई छ । यस विषयमा अर्थमन्त्रालयमा पटक पटक छलफल गरिएकोपछि एक करोड रुपैयाँ माथिका राष्ट्रिय राजमार्गका आयोजनाहरूको रकम फुकुवा गर्ने सहमति भएको जानकारी दिए ।
राष्ट्रिय गौरवका आयोजना समेत बजेट एकमुष्ठ रोकिएकोले केही समय आयोजना कार्यान्वयनको गतिमा समस्या परेको उनको भनाई छ । उनका अनुसार सडक विभागको पुँजीगत खर्चको प्रगति ९ दशमलव ६७ प्रतिशत रहेको छ ।
यातायात व्यवस्था विभाग र रेल विभागको प्रगति भने झनै कम रहेको उनले जानकारी दिए । जेन—जी आन्दोलनका कारण विभागको कार्यलयमा क्षति हुँदा काम गर्न नसकिएको उनको भनाई छ ।
उनले भने, ‘खर्च कटौतीको कारणले २० अर्ब रोकिएको छ । सफ्टवेयरमा ३ करोड रुपैयाँ भन्दा सानो रोकिने भनेको कारणले होला राष्ट्रिय राजमार्ग कै रकम पनि खुलेको छैन । यी सबै कुराहरूमा हामीले पटक पटक अर्थमन्त्रालयमा छलफल गरिरहेका छौँ । राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याएर त हुँदैन नी । त्यसकारण एक करोड रुपैयाँ माथिका राष्ट्रिय राजमार्गका आयोजनाहरूको रकम फुकुवा गर्ने सहमति भएको छ । राष्ट्रिय गौरवका आयोजना समेत बजेट एकमुष्ठ रोकिएकोले केही समय हाम्रो आयोजनाका कार्यन्यवयनको गतिमा अहिले समस्या परेको छ । रेल विभागको पूर्वपश्चिम विद्युतीय रेलमार्गको ठेक्का व्यवस्थापन भएकोमा जग्गाप्राप्तीको निर्णय गर्न नसकेको कारण समस्या भएको छ ।’
उनले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा दुई लेन कालोपत्रे १२९ किलोमिटर, ४ लेन वा सोभन्दा बढीको कालोपत्रे ७ किलोमिटर, ग्राभेल सडक निर्माण ३३ किलोमिटर र नयाँ ट्र्याक २७ किलोमिटर निर्माण भएको जानकारी दिए ।
७ वटा पुलहरू निर्माण भएका छन् भने रेल विभागको ट्रयाकवेल निर्माण ३०० मिटर भएको छ । उनले शुरुको त्रैमासिक धेरै प्रक्रिया मात्रै मिलाउने भएकोले खर्च कम भएको बताए । उनले सुरक्षण मुद्रण केन्द्र मार्फत सवारी चालक अनुमति पत्र छपाई कार्य शुरु भएको पनि जानकारी दिए । केही समयपछि विभागबाट पनि छाप्ने तयारी रहेको उनको भनाई छ ।








