घुम्नैपर्ने ठाउँ बर्येडाँडा

तनहुँ । कुनै समयमा मानिसहरू एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरू समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ । यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ ।

निजी प्रयासमा शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पार्क निर्माण भएसँगै यस क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा यस क्षेत्रको विकास हुँदै गएको छ ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा पर्ने यस पार्कमा घुम्नका लागि मानिसहरू विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहाँ सुन्दर र शान्त वातावरणमा बस्न, खाना र घुम्ने व्यवस्था भएसँगै सबै उमेर उमेरका मानिसहरूको आकर्षण बढेको हो ।

सहरको कोलाहलबाट मुक्ति पाउनका लागि राजमार्गबाट नजिक दूरीमा रहेको यस पार्क नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको व्यास नगरपालिकाका पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘मैले नजिकबाट नियाल्दा सुन्दर, शान्त, मनोरमका साथै धार्मिक र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको पार्कले सबैको मनमा आनन्दको अनुभूति दिलाउँछ ।’

पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको डेढ करोड लगानीमा करिब २० रोपनी क्षेत्रफलमा आकर्षक पार्क र रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यहाँ निर्माण गरिएका पार्कको साथै उत्तरतर्फ रहेको हरियाली जङ्गल र कुम्लेखोलाको कलकल आवाजले परिवारसहित घुम्न जानेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनेको नेपाल बार एसोसिएसन तनहुँका पूर्व अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदीले बताए ।

यहाँ दैनिक ३०० देखि ४०० सम्म आन्तरिक पर्यटकहरू भ्रमणमा आउने गर्दछन् । यहाँको मनोरम दृश्यले आफूलाई आकर्षण गरेको पहिलोपटक घुम्न आउनुभएका व्यास नगरपालिका–१ भादगाउँ निवासी हरिप्रसाद भट्टराईले बताए ।

उनी भन्छन्, ‘तीनखोले मन्दिरमा दर्शन गर्न आएको समयमा हेर्न भनेर यहाँ आएको हुँ, अर्को पटक एक दिन बास बस्नेगरी समय मिलाएर आउने योजना बनाएको छु ।’

जिल्लाकै भिमाद नगरपालिकाबाट आउनुभएका राम बानियाँले पारिवारिक वातावरणमा घुम्नका लागि आनन्दको ठाउँ रहेको बताए । उनले भने, ‘यहाँको प्राकृतिक मनोरम दृश्यले जो कसैको मन खिच्ने किसिमको भएकाले मनमा शान्ति र आनन्दको अनुभूति गर्न सकिनेछ ।’

विभिन्न साहसिक खेलहरूका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घनाजङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सकिने उनको बुझाइ छ ।

सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागिएको छ ।

सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइनेछ ।

झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ ।

झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहुँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनाका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्त्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरू बताउँछन् ।

सिन्धुली जिल्लाको झाँगाझोलीको झल्को पाइने यस ठाउँलाई त्यही रूपमा विकास गर्न लागिएको अर्का सञ्चालक वासुराज दाहाल बताउछन् । बिपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिरसमेतका सम्पदाहरू समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडास्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ ।

हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरूको पुख्र्यौली थलो मानिन्छ । पूर्व प्रधानमन्त्री बिपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो ।

सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरूको नामबाट तनहुँको झाँगाझोलीमा घरहरू निर्माण गरिनेछन् ।

सात वटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ । तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रूपमा ‘गौरादेवी नेचुरल हर्बल पार्क’ निर्माण गरेर थप आकर्षण बनाइएको अर्का सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिए । यहाँ विशेष तरिकाले निर्माण गरिएको हर्बल पार्कमा विभिन्न जातका जडीबुटी रहेका लगाइएकाले अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ । यहाँ जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका जनावर तथा पक्षीहरूका मूर्ति राखिएका छन् ।

झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताए ।

थापाले भने, ‘प्राकृतिक रूपले धनी झाँगाझोलीको विकासका लागि तीन वटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको छ ।’

खोलाको वरपर रहेको घनाजङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ । चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ ।

‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । झाँगाझोली क्षेत्रलाई एकेडेमी रिसोर्टका रूपमा अघि बढाउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =