सर्वोच्चमा जलेका मुद्दाका कागजात बुझाउने प्रक्रिया सुरु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडपछि अवरुद्ध बनेका सबै सेवा सुरु भएका छन् ।

गत कात्तिक २० गते बसेको सर्वोच्चको अदालतको फुल कोर्टले मंसिर १ गतेदेखि सबै सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सोमबारदेखि सेवा सुचारु भएको हो ।

सेवा सञ्चालनको लागि सर्वोच्चमा जलेका मुद्दाका कागजात सेवाग्राहीले बुझाउने प्रक्रिया सुरु गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए । उनकाअनुसार सेवाग्राही आउने बित्तिकै उहाहरुको मुद्दा जलेको छ कि छैन भन्ने जानकारी सोधपुछ कक्षमै उपलब्ध गराइनेछ । जलेको भएमा सेवाग्राहीसँग भएका आवश्यक कागजात लिने उनले जानकारी दिए ।

जलेको फाइल पहिचान गर्ने र सम्बन्धित शाखामा कागजात बुझाउनको लागि सर्वोच्च अदालतमा पालको टेण्ड राखेर व्यवस्था मिलाइएको छ । मुद्दाका आवश्यक कागजात बुझाउन अदालतले एक महिनाको समय दिएको पाण्डेले जानकारी दिए । सेवाग्राहीसँग भएका प्रमाण–कागज संकलन गरी मुद्दा पुनर्स्थापनाको प्रक्रिया सहज बनाउने उनको भनाई छ । उनले मुद्दाका आवश्यक कागजात बुझाउने सेवाग्राहीलाई धन्यवाद स्वरूप प्रमाणपत्र उपलब्ध गराउने गरिएको पनि जानकारी दिए ।

उनले भने ‘हामीले सर्वप्रथम आज जो सेवाग्राही आउनुहुन्छ, हामीले सोधपुछमा मुद्दा जलेको छ कि छैन भन्न थाहा पाउनुहुन्छ । हामीले कर्मचारीहरू खटाएका छौँ उहाँहरूले हेर्दिनुहुन्छ । मुद्दा जलेको छ भने कुन कुन शाखामा हो, हामीले पालको व्यवस्था गरेका छौँ, त्यो पालमा गएर चाहिँ आफ्नो मुद्दाको फाइलहरू बुझाउन सक्नुहुन्छ । फैसला भइसकेको मुद्दा छ भने फैसला लेख्न बाँकी भएको अवस्था हो भने त्यो अवस्थामा पनि फैसलाको लागि आवश्यक भएका डकुमेन्ट दिने गरेर हामीले यहाँ व्यवस्थापन गरेका छौँ । एक महिनाको समय दिइएको छ । आफ्ना भएका कागजात पेश गर्नको लागी आजबाट सुरु भयो । यसलाई नियमित रुपमा अझै सुधार गरेर हामी सेवाग्राहीसँग उहाँसंग भएको प्रमाण कागज लिने प्रयत्न गरिरहेका छौँ ।’

सेवाग्राहीको सहजीकरणको लागी अदातमा रहेको चार वटा टे्रड युनियनले छुट्टै आ–आफ्नो सङ्गठनबाट ४/५ जना स्वयंसेवकहरू समेत खटाइदिएको उनले बताए । सर्वोच्च अदालतले सेवाग्राहीसँग आफूसँग भएका मुद्दाका फाइलहरू उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =