राजश्व बढाउन करको दर होइन, दायरा विस्तार गर्नुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजस्व बढाउन करको दर बढाउनुको सट्टा दायरा विस्तार गर्नुपर्ने बताएका छन् । सोमबार कर दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष पाण्डेले लगानी विस्तार र औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व अपरिहार्य रहेको औंल्याए । उनले स्वदेशी मात्र नभई विदेशी लगानीकर्ताले पनि करसम्बन्धी नीति र दायित्व हेरेर मात्र लगानी गर्ने गरेको स्पष्ट पारे ।

मुलुक विषम परिस्थितिमा रहेको उल्लेख गर्दै पाण्डेले केही समयअघिसम्म अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोमा अहिले ‘जेन जी’ आन्दोलनपछि राजनीतिक र सामाजिक क्षेत्रमा समेत चुनौती थपिएको बताए । मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टताका साथै स्थिरता आवश्यक रहेको उनले जोड दिए ।

पाण्डेले भने, “मुलुकमा विकसित पछिल्लो घटनाक्रम र त्यसबाट सिर्जित अवस्था, अर्थतन्त्र, सामाजिक अवस्था लगायतका विषयमा तपाईंहरू पूर्ण जानकार हुनुहुन्छ । मुलुक विषम परिस्थितिमा छ । केही समयअघिसम्म अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको थियो भने ‘जेन जी’ आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौती थपिएको छ ।”

“मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टतासँगै स्थिरता हुनुपर्छ भन्ने विषय निजी क्षेत्रले समेत उठाउँदै आएको हो । यी विषयहरूलाई लिएर ‘जेन जी’ पुस्ताले समेत गरेको आन्दोलन त्यसपछिको अवस्थासँगै मुलुक नयाँ चुनावका लागि अग्रसर भएको छ । मुलुक छिटै नयाँ चरणमा प्रवेश गर्ने र त्यसमा सुशासन, लगानी, व्यक्तिगत सुरक्षासँगै लगानीको वातावरणमा व्यापक सुधार हुने अपेक्षा निजी क्षेत्रले लिएको छ,” उनले थपे ।

राजस्वका कारण सरकारसमेत दबाबमा रहँदै आएको भन्दै पाण्डेले राजस्व बढाउन करको दर होइन, दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =