गृहमन्त्रीको काम पुराना सरकारजस्तै भए चुप बस्दैनौँ, अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने प्रयासमा छन्: सुदन गुरुङ

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सडकमा कसैलाई मन्त्री बनाउन नआएको बताएका छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत गुरुङले वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भए चुप नबस्ने बताएका हुन् ।
सुदन लेख्छन्: हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो। यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर। या सरकार ढलाउने खेल वा संविधान माथि धावा।
हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका थिएनौ, हामी स्कुले पोसाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जबाफदेहिताको लागि आएका हौँ। हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ।
सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दैछु किनकि हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो। हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ, किनकि म्यान्डेट जनताले दिएको हो। आज उँहाहरुले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ? कलिलो बालबालिकाको हत्या, आन्दोलनमा भएको अत्याचार, र पीडित परिवारप्रति राज्यको बेवास्ता र असक्षमता हामी सहँदैनौँ।
अन्तरिम सरकारले चुनाव मात्र होइन, आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनु पर्छ, किनकि यो आन्दोलन कसैलाई पद दिलाउनको लागि थिएन, यो रगत, आँसु र सपनाको लडाइँ हो। नेपाली भन्नुको अस्तित्व र भविष्यका लागि हो। हाम्रो देश बन्न सक्छ भन्ने विश्वासका लागि हो।
जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ। हामीले प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो भन्ने विश्वाससहित। खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्छन्।
जो कोही यो समय गलत राजनीतिक खेल खेल्ने, हाम्रो सरकार ढाल्ने, वा यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा छन् ।
सबैले याद राख्नुस् प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ ।









