त्रिविमा चमेना गृह निर्माणमा विद्यार्थी अवरोध, निर्माण व्यवसायीद्वारा कडा चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा निर्माणाधीन चमेना गृह भवनको काममा विद्यार्थी नेताहरूले निरन्तर अवरोध पुर्‍याएको भन्दै निर्माण व्यवसायीहरूले कडा चेतावनी दिएका छन् । विद्यार्थी संगठनका नेताहरूले काम सुरु भएपछि विभिन्न बहानामा अवरोध गर्ने र आर्थिक लाभ लिने गरेको आरोप लगाउँदै व्यवसायीहरूले अब यस्ता गतिविधि सहन नसक्ने बताएका छन् ।

निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी हुने गरेको तर काम सुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेको गुनासो गरे । उनले ठेक्का प्रक्रियामा विद्यार्थी नेताहरू बोर्डमा बसेर निर्णय गर्ने गरेको र काम सुरु भएपछि पैसा माग्ने गरेको खुलासा गरे । यदि सो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने महर्जनको भनाइ छ ।

महर्जनले केही त्रिवि कर्मचारीले विद्यार्थीलाई उचालेर व्यवसायीसँग पैसा असुल्न लगाउने गरेको गम्भीर आरोप लगाए । उनले विद्यार्थीको नाममा गुण्डाहरूले धम्की दिने, थर्काउने र पैसा माग्ने काम गर्ने गरेको बताउँदै यस्ता गतिविधिमा संलग्नहरूलाई कीर्तिपुरवासीले ‘तह लगाउने’ चेतावनी दिए ।

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबीच निर्माण हुन लागेको चमेना गृह परियोजना गत मंगलबार विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको थियो । साउनबाट सुरु भएको निर्माणमा विद्यार्थीले रुख नकाट्न र क्याफ्टेरिया नबनाउन दबाब दिँदै आएका थिए । मंगलबार विद्यार्थी र व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको थियो ।

निर्माण व्यवसायीहरूले यस्ता अवरोधले परियोजनामा ठूलो क्षति पुग्ने भन्दै त्रिवि प्रशासनसँग तत्काल समाधान खोज्न माग गरेका छन् । उनीहरूले यसरी काममा अवरोध सिर्जना हुँदा निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने र त्यसको प्रत्यक्ष असर विश्वविद्यालयको विकासमा पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =