१२५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता : राजनीतिक दलहरूले खोजे शान्ति सुरक्षाको ग्यारेन्टी

काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १ सय २५ वटा राजनीतिक दलहरू दर्ता भएका छन् ।

शुक्रवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरूले दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।

उनकाअनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरूले अघिल्लो आर्थिक वर्षमा कागजात पेश गरेपनि पुग्ने गरी कागजात पेश नगरेकाले विचाराधीन अवस्थामा रहेका छन् ।

अहिले १८ वटा राजनीतिक दलहरू दर्ता प्रक्रियामा रहेका छन् । प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यायोजना प्रकाशित भइसकेको र निर्वाचन कार्यक्रम प्रकाशन गर्न बाँकी रहेको पनि बताए ।

उच्चस्तरीय निर्वाचन सुरक्षाको बैठक पनि सम्पन्न भइसकेको र बैठकका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको बताए । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म राखिएको र कार्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका दलहरूले निर्वाचनमा भाग लिन दल दर्ता गर्न सक्ने स्पष्ट पारे ।

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले सरकारले राजनीतिक दलहरूसँग संवाद गरेर विश्वासमा लिन नसकेको बताए । उनले निर्वाचन स्थलहरू आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको अवस्थामा निर्वाचनमय वातावरण बनाउन सरकारले नसकेको जिकिर गरे ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले मुलुकमा संविधान जोगाइराख्न निर्वाचनको विकल्प नभएको बताए । उनले संसद पुनःस्थापना भन्दा पनि निर्वाचनमा सहभागी हुनु नै उत्तम विकल्प भएको बताए । शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

बैठकमा राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले निर्वाचनको विकल्प नभएको बताए । नयाँ पुस्ताको आन्दोलनबाट हुन लागेको निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउँछन् की पाउँदैनन् भन्दै प्रश्न गरे ।

राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले निर्वाचनको विकल्प नभएको बताए । मुलुकलाई संकटबाट निकाल्न निर्वाचन जरुरी रहेको बताए ।

जेन जी आन्दोलनको नाममा धेरै क्षति भएको र जेलबाट भागेका कैदीहरूले दुःख दिने, प्रहरीबाट लुटिएका हतियार फिर्ता नहुँदा नागरिक त्रसित रहेको बताए ।

बैठकमा सांसदहरूले निर्वाचनमा शान्ति सुरक्षाको सुनिश्चिततामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =