झुम्का कारागारबाट भागेका ५७२ जना अझै सम्पर्कविहीन

इटहरी । सुनसरीको झुम्का कारागारमा भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ पछि एकैपटक बाहिरिएका कैदीबन्दीमध्ये धेरैले आत्मसमर्पण गरेर कारागार फर्किए पनि, अझै ५७२ जना फरार कैदीबन्दी सुरक्षा निकायका लागि टाउको दुखाइ बनेका छन् । यी फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कारागार प्रमुख सुवास लामिछानेका अनुसार, आन्दोलनपछि बाहिरिएका कुल १ हजार ७९६ कैदीबन्दीमध्ये १ हजार २५९ जनाले स्वेच्छाले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरिसकेका छ न्। यो संख्या सन्तोषजनक भए पनि, बाँकी ५७२ जना विभिन्न ठाउँमा लुकीछिपी बसेको अनुमान गरिएको छ, जसले सुरक्षा चुनौती थपेको छ ।

फरार कैदीबन्दीमध्ये ४९ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ। झुम्का कारागारमा रहेका कुल ६१ भारतीय कैदीमध्ये १२ जना मात्र फर्किएका छन् । बाँकी भारतीय कैदीबन्दी सीमापार गरेर आफ्नो देश फर्किएको वा नेपालमै कतै लुकेको भन्नेबारे प्रशासनसँग यकिन जानकारी छैन । यस विषयमा भारतीय समकक्षीसँग समन्वय भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

भदौ २४ गते राति आन्दोलन सुरु हुँदा कारागारमा ठूलो भीड र सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण ठूलो संख्यामा कैदीबन्दी बाहिरिन सफल भएका थिए । त्यसलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनले संयुक्त रूपमा फरार कैदीबन्दीको खोजी अभियान चलाउँदै आएका छन् ।

प्रशासनले फरार कैदीबन्दीलाई असोज २० गतेसम्म आत्मसमर्पण गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, उक्त म्याद सकिएको लामो समय भइसक्दा पनि अझै सयौं कैदीबन्दी फर्किएका छैनन् । सुरक्षा निकायले विभिन्न सुराकी र सूचनाका आधारमा उनीहरूको खोजी जारी राखेको छ । फरार कैदीबन्दीहरूमाथि निगरानी बढाइएको र उनीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =