उजाड बगर बन्यो उर्वर भूमि (तस्बिरहरू)

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका-५ स्थित बबई नदीको बगर अहिले उजाड छैन, हरियालीले ढाकिएको छ । कहिल्यै प्रयोगमा नआउने यो बगर अहिले स्थानीय किसानका लागि ‘सुन फलाउने’ उर्वर भूमि बनेको छ । यहाँका किसानले हिउँद र वर्षा दुवै समयमा विभिन्न तरकारी तथा बाली लगाई मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । नदीको बगरमा गरिएको यस खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
बालापुरस्थित बबई नदीको २५ बिघा क्षेत्रफल बगरमा २७ परिवारले सामूहिक रूपमा खेती गर्दै आएका छन् । हाल यहाँ तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाजस्ता तरकारी खेती गरिएको छ । हिउँदमा भने किसानहरूले खरबुजा, लौका र करेलाको खेती गर्छन् ।
स्थानीय गोपीलाल चौधरीको परिवार विगत पाँच वर्षदेखि बगर खेतीमा संलग्न छ । बगर खेतीबाट वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको चौधरीले बताए । मनसुनको समयमा बबई नदीमा आउने बाढीले नजिकको जमिनलाई बगरमा परिणत गरिदिएपछि स्थानीय किसानले त्यही बगरमा मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । चौधरीले २ बिघा क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन् । विगतमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको उनको परिवारको जीवन बगर खेतीले बदलिएको उनले बताए ।
जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत प्राक्टिकल एक्सन नामक संस्थाले बगर खेतीका लागि बीउबिजन, कृषि विज्ञको साथै सिँचाइका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । समय-समयमा प्राप्त हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा आफूहरूलाई थप उत्साहित बनाएको चौधरीको भनाई छ ।
बर्दिया मात्र होइन, कैलालीका किसानले पनि बगर खेतीबाट लाभ लिइरहेका छन् । धनगढी उपमहानगरपालिका–१९ पूर्वी ललितपुरका २१ जना किसानले बगर खेतीबारे तालिम लिएपछि मोहना नदीको किनारमा खेती गर्दै आएका छन् । यसैगरी टीकापुर नगरपालिका–८ वनगाउँका आठ जना किसानले पनि बगर खेती गरिरहेका छन् । कर्णालीको बगरमा खेती गर्दै आएका रमेश चौधरीले संस्थाले तालिम दिएपछि खेती गर्न सहज भएको र आम्दानी पनि बढेको बताए । छोराछोरीको पढाइ खर्च र दैनिक जीवनयापनका साथै केही रकम भविष्यका लागि बचत पनि गरेको उनले जानकारी दिए । बगर खेतीले किसानको जीवनमा हरियाली मात्र भरेको छैन, आर्थिक समृद्धिको ढोका पनि खोलेको छ ।









