चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने

काठमाडौँ । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ ।
एनडीपीको शुक्रवार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिएका हुन् ।
एनडीपीसहितको समूहले मिलेर सो जलविद्युत परियोजना निर्माणको लागी सम्झौता गरेको बताए । उक्त जलविद्युत निर्माणको लागि सहज रहेको समेत उनले बताए ।
भारतको सीमासम्म पुग्ने गरी उक्त ठाउँमा विद्युत् प्रसारण लाइन समेत बनिसकेको उनको भनाई छ । मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराउने र हाइवेमा नै कालिगण्डकी पावरहाउस निर्माण गर्ने उनले जानकारी दिए ।
उनले भने ‘हामीले कालिगण्डकी कोभाङ भन्ने एउटा प्रोजेक्ट छ, जुन प्रोजेक्ट अदालतले खारेज गरेको थियो । अदालतले खारेज गरिदिएर प्रोजेक्ट बास्केटमा गएको थियो, अहिले त्यो कम्पनीले सर्वोच्चबाट मुद्दा जितेर लाईसेन्स रिस्टेट भएको हिसाबले हामीले त्यो लाईसेन्स एनडीपीसहितको ग्रुपले एग्रिमेन्ट गरेर अगाडी बढाउन खोजेका छौँ । त्यो करिब ४ सय मेगावाट हुन्छ । क्यू४० हिसाबले १६३ छ , क्यू२५ को हिसाबले गर्दाखेरि करिब ४०० मेगावाट हुन्छ । त्यो भनेको ट्रान्समिसन लाइन पनि अलरेडी बनिसकेको छ । इन्डिया जाने कालिगण्डकी करिडोर ट्रान्समिसन लाइन बोर्डरसम्म नै गइसकेको अवस्था छ । अर्को चाहिँ त्यो कस्तो ठाउँमा छ भने लेतेबाट टनेलमा पानी छिराउने र हाइवे मै कालिगण्डकी (हाम्रो ज्ञानेन्द्रजी र सांघाईजीहरुले अगाडी बढाउनुभएको) कालिगण्डकी गर्ज भन्ने त्यसको माथि हाइवे मै पावरहाउस निकाल्ने भनेपछि यो एकदमै राम्रो प्रोजेक्ट छ । त्यो प्रोजेक्टमा हामी बढी सकेको अवस्था छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिए ।








