मेची राजमार्ग अवरुद्ध हुँदा इलाम-झापा सडक सम्पर्क विच्छेद

इलाम । बिहीबारदेखिको अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक भासिएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । यससँगै इलामको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ ।

मेची राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको तिल्केनी-सिमलगोलाई-शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । यसअघि गत असोज १८ गतेदेखि नै मेची कोरिडोर (केचना-कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएका कारण बन्द रहेको थियो । इलाम सदरमुकामलाई झापासँग जोड्ने सबै प्रमुख सडकहरू अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क पूर्ण रुपमा विच्छेद भएको छ ।

जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले शनिबारसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम थप प्रभावित हुने सम्भावना रहेको छ । यस विषम परिस्थितिमा स्थानीय प्रशासनले सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =