पर्यटकको रोजाइमा गुठिचौरको आकासे ताल

जुम्ला । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको जुम्लाको गुठिचौर गाउँपालिका –१ स्थित ‘आकासे ताल’ पर्यटकको रोजाइमा परेको छ ।

पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको सो ताल हेर्न उल्लेख्य सङ्ख्यामा मानिसहरू आउन थालेका छन् ।

चौँरी गोठालाले २०७६ सालमा पत्ता लगाएको सो ताल हेर्न विशेष गरी आन्तरिक पर्यटक बढी आउने गरेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए ।

स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धनमा सक्रिय सृजना सिज्जुसहितको टोलीले पहिलो पटक सो तालको अवलोकन गरी भिडियो सार्वजनिक गरेपछि महत्त्व बढी यो पर्यटकीय केन्द्र बन्न सफल भएको हो ।

वडाध्यक्ष महताराले भने, ‘यसवर्ष दसैँ–तिहारको अवसरमा ताल हेर्न आउने पर्यटकको सङ्ख्या अपेक्षा गरेभन्दा धेरै बढी भयो । उच्च स्थानमा अवस्थित उक्त तालको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग समन्वय भइरहेको छ । तालसम्म पुग्नका लागि ५० लाखको लागतमा सडक निर्माण गरेका छौँ ।’

पालिकाले तालको वास्तविक क्षेत्रफल नाप जाँचको काम अघि बढाएको जानकारी दिँदै प्रवक्ता महताराले सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने र आगामी हिउँदे गाउँसभाबाट तालको प्रवद्र्धनमा आवश्यक बजेट विनियोजन गर्ने स्पष्ट गरे । पालिकाले तालसम्म पुगेका पर्यटकलाई बस्नका लागि धर्मशालाको व्यवस्था गरेको जनाएको छ ।

पछिल्लो समय तालको अवलोकन तथा घुमघाम गर्ने र ‘भिडियो डकुमेन्ट्री’ बनाउनेलगायतका प्रयोजनका लागि दैनिक तीनदेखि पाँचसमुह यहाँ आउने गरेको वडा अध्यक्ष महताराले जानकारी दिए ।

स्थानीयबासी अजीत थापाका अनुसार तालको मनमोहक दृश्यका कारण पर्यटक लामो समयसम्म यहाँ बस्न रचाउँछन् । हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटकको मन लोभ्याउने गरेको ।

स्थानीयबासी थापाले भने, ‘रारा ताल घुम्न आउने पर्यटकलाई यो तालसम्म ल्याउनसके स्थानीय अर्थतन्त्र थप चलायमान हुनेथियो । गुठिचौरबासीलाई लाभान्वित तुल्याउने यो महत्वपूर्ण केन्द्र बन्नसक्छ, त्यसतर्फ स्थानीय पालिकाको ध्यान जानुपर्ने देखिन्छ ।’

यसैसन्दर्भमा तीनै तहका सरकारले पूर्वाधार विकास एवं प्रचारप्रसारमा जोड दिई जुम्लाबजारबाट नजिक पर्ने सो ताललाई आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गुठिचौरबासीले जोडदार माग गरेका छन् ।

जुम्लामा कार्यरतसहित अन्य जिल्लाका सरकारी कर्मचारी, सङ्घ, संस्थाका प्रतिनिधिहरू समेतको समय मिलाएर तालको अवलोकन गर्ने क्रम बढ्दो छ ।

तातोपानी गाउँपालिका–४ का स्थानीयबासी भरत नेपाली हिमालको फेदीस्थित समथर भागमा नीलो रङ्गको पानीले भरिएको मनमोहक तालको अवलोकन गर्दाको आनन्द शब्दमा वर्णन गर्न नसकिने बताउछन् । उनले भने, ‘केही वर्षअघि मात्र फेला परेको हिमरेखा नजिक पर्ने विशिष्ट प्रकृतिको तालको अवलोकन गरी रमाउन सबैसँग आग्रह गर्दछु ।’

प्रकृतिको काखमा रहेका धेरै तालहरू आजसम्म पनि मानवको पहुँचबाट धेरै टाढा र बेखबर छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोजी र अनुसन्धानको कमी तथा प्रचारप्रसार तथा संरक्षणको अभावमा कैयौँ ताल गुमनाम अवस्थामा छन् ।

करिब छ वर्षअघि मात्र पत्ता लागेको गुठिचौरस्थित ‘आकासे ताल’को वास्तविक नापनक्सासहित प्रचारप्रसार र प्रवद्र्धन गर्न र तालसम्म पुग्ने सडक बाटो एवं अत्यावश्यक भौतिक पूर्वाधार निर्माणमा सरोकारवाला पक्षको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =