मेटिँदै सेन वंशको इतिहास : झाडीमा परिणत भयो मकवानपुरगढी (भिडिओ)

मकवानपुर । मकवानपुरगढी दरबार, जसलाई नेपालको गौरवशाली इतिहासको एक अमूल्य दस्तावेज मानिन्छ, आज आफैँ इतिहास बन्ने सङ्घारमा छ । लगभग तीन सय वर्षसम्म सेन वंशका राजाहरूको राजधानी रहेको यो दरबार राजनीतिक, सांस्कृतिक र सैनिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । तर आज, जब कोही पर्यटक त्यहाँ पुग्छन्, उनीहरूले इतिहासका अवशेषभन्दा पहिले झाडी र घाँसको साम्राज्य देख्छन् ।

१३औँ शताब्दीको शुरुतिर मुकुन्द सेनका छोरा लोहाङसेनबाट शुरु भएको मकवानपुरको शासनकाल अन्तिम राजा दिगबन्धन सेनसम्म आइपुग्दा यो गढी करिब तीन शताब्दीसम्म शक्तिशाली किल्लाका रूपमा रह्यो । नेपालकै सबैभन्दा ठूलो गढीका रूपमा परिचित यसले सेन वंशीय इतिहास बोकेको छ । तर अहिलेको अवस्था हेर्दा लाग्छ – इतिहास र सम्पदा जोगाउने हाम्रो चासो झन् कमजोर बन्दै गएको छ ।

मकवानपुरगढी गाउँपालिकामा पर्ने यो स्थानमा अहिले पनि दिनहुँ सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्छन् । तर गढीभित्र प्रवेश गरेपछि आफूहरूले इतिहासको कथाभन्दा पहिले अग्ला घाँस र झाडीहरू देखेको काठमाडौंबाट आएका पर्यटक दिलबहादुर देउला गुनासो गर्छन् । गढीका संरचनाहरू झारपातले ढाकेको र पौराणिक महत्त्वका ठाउँहरू हेर्नै मुस्किल भएको दोलखा चरीकोटबाट आएका पर्यटक सोमबहादुर तामाङले बताए ।

स्थानीय पुजारी चन्द्रप्रसाद घिमिरेका अनुसार गढीमा वर्षमा जम्मा तीन पटक मात्र सरसफाइ हुने गर्छ । त्यो पनि बजेट र जनशक्तिको अभावले सीमित भएको देखिन्छ । उनले भने, ‘यहाँ सफा गर्न प्रयास त गर्छौँ तर न जनशक्ति पुग्छ, न बजेट । स्थानीयहरूकै चासो पनि खासै छैन । यस्तो अभाव र उपेक्षाका कारण आज यो ऐतिहासिक गढी झाडीको जङ्गलमा परिणत हुन थालेको छ ।’

स्थलगत अवलोकनका क्रममा मकवानपुरगढीको अवस्था देख्दा लाग्छ – इतिहासले हामीलाई सुम्पेको यस्तो अमूल्य सम्पदा संरक्षणको चरम अभावमा छ । जताततै घाँस र झारहरूले ढाकिएका संरचना, धूलाले भरिएका बाटाहरू, अनि हेर्दा हेर्दै ओझेलमा पर्दै गएको इतिहास । केही स्थानबाहेक अधिकांश भागहरूमा झारहरूले ढाकेका छन् । यस्तो ठाउँमा पर्यटक आकर्षण त परै जाओस्, यहाँको महत्त्व बुझ्न पनि कठिन हुन्छ ।

मकवानपुरगढी केवल पर्यटकीय स्थल मात्र होइन, यो एक राष्ट्रिय गौरव हो । यहाँका ढुङ्गाहरूले इतिहास बोकेका छन् । हरेक पर्खालले एउटा कथा सुनाउँछ । तर यदि यस्तो गढी संरक्षणको अभावमै हराउँदै जाने हो भने, भोलिको पुस्ताले यसको केवल नाम मात्र सुन्ने अवस्था नआउला भन्न सकिँदैन ।

यो अवस्था सुधार्न स्थानीय तह, विशेष गरी मकवानपुरगढी गाउँपालिका, प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, र पुरातत्व विभाग सबैको जिम्मेवारी बराबरको छ । बजेटको बहानामा, जनशक्ति नपुग्ने भन्दै, वा स्थानीयको चासो नभएको भन्दै गढीलाई यसरी छाड्न मिल्दैन । पर्यटकको गुनासो केवल घाँसको बारेमा होइन, त्यो हाम्रो व्यवस्थापकीय असक्षमताप्रति पनि सङ्केत हो । अब समय आएको छ – इतिहास बचाउने, गढी संरक्षण गर्ने र यसलाई साँच्चिकै पर्यटकीय तथा शैक्षिक केन्द्र बनाउने । मकवानपुरगढी केवल एक ठाउँ होइन, यो हाम्रो पहिचान हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =