(कविता) तातो परिवर्तनको पोल

तालमा नअटाउने इतिहासको सीप,
सपना त गगनचुम्बी बाँधिन्छ।
तर हाम्रो परिवर्तन,
तातो खिरजस्तै,
जिब्रो पोल्छ, मन जलाउँछ।
यति तातो कि
भान्सा डेढ दशकदेखि बलिरहेछ,
र जनताको मुखमा अझै चिसो भोक छ।

आमाले भनिदिएकी थिइन्,
“मेरो छोरो देश ठूलो बनाउन निस्केको छ।”
तर छोरो देश बनाउने बाटोमै
देशकै घाउमा चिप्लेर ढल्छ।
आमाको आत्मविश्वास
गुगल म्यापमै हरायो,
न घर पुग्यो न लक्ष्य।

बुवाले कधैकधी चिन्ताले भत्भताउँछन्,
“कति वर्ष लाग्छ यसपालि
खुसीको चिठी ल्याउन?”
तर चिठी किन आउँथ्यो र,
जहाँ भोट माग्नेहरूले
वचनलाई तामा–सिक्काबन्दी गर्दै
बुवाका सपनालाई चुरोटको धुवाँजस्तै
हावामा उडाइदिन्छन्।

कसको ज्यान गयो?
स्पिकरले चिच्याउँछ,
“संवेदना व्यक्त गर्दछौँ।”
तर घरको शून्यतामा
न त संवेदना बस्छ,
न त न्यायको झिल्को आउँछ।
गएका सन्तानका खोलीदिएको कोठा
आज पनि कुर्दै छ
फर्किन नसक्ने पाइलासँग
चुपचाप।

कसैको भरोसा गयो,
कसैले बाबु बन्ने सपनै गुमायो।
कसैको बुढेसकाल
अनाथजस्तै बित्यो,
किनकि
रातको अँध्यारोलाई
आफ्नो नारा सम्झेर
दिनजस्तै देखाउनेहरूको शासन थियो।

राज गर्न आतुरहरू
आफ्नो कालो हात कानुनमा बेरेर चौतारीमा चढे।
नियतको निद्रा खुलेन,
र नियमको पाठ
कुर्सीमा बसेपछि
कसैले सम्झिदैन।

सार्वजनिक सम्पत्ति
जनताको पसिना र रक्तदानको
ठोस प्रमाण हो।
तर तिनै पसिना
कसैको बैंक ब्यालेन्समा,
कसैको दलमा,
कसैको गलबन्दीमा भिज्छ।
माला र खादा पहिरेर
उनीहरू गर्वले मुस्कुराउँछन्,
“हामी परिवर्तन हौँ।”

परिवर्तन त शब्द,
जसको ढाँचा नबुझी
सारा पाना च्यातियो।
कसरी भन्ने
नियत र निष्ठा नभएको क्रान्ति
सफल भइदिन्छ?

जेन जेड (Gen Z) को आत्मा
शान्ति खोज्दै
सडकदेखि संसदसम्म
लात्ताले कुर्सी ठेल्यो।
तर फाइदा?
केवल
मनको दानापोखरीमा
थोत्रो पराजयको झिल्को।

सरकार नामको
मोटो नाटकघर,
जहाँ कलाकारहरू
बदलिन्छन्,
तर पटकथा
सधैँ उही दुखिएको जनताको कथा।
चार महिना
सुधारको बिहान
कि पराजयको साँझ?
चुनाव त आउँछ,
तर विसंगतिका भूकम्पहरू
अझै बलिया भिरजस्तै
ढुंगाको अडान लिएर बस्नेछन्।

सरकार!
तिमीलाई प्रश्न:
कुन हतियार दालिदैन
जनताको भोटभन्दा ठूलो?
फरक न्यायालय कुन हो?
कुन अदालतमा
जनताको आँसु प्रमाण बनेर उत्रिन्छ?

भीडहरू चिच्याइरहेछन्,
“आमाको छाती दबिरहेको छ!”
“बुवाको भरपर्दो काँध
किन भाँचिँदै छ?”
“देशको भित्तामा
रगतको चेतावनी लेखिएको छ!”

नेपाल
अहिले निदाएको छैन।

सुत्ने ढोंग गरिरहेको छ,
किनकि जाग्दा
ऊ आफ्नै पाखुरामा
सम्भावनाको पहाड देख्छ,
र सगरमाथाले पनि
अहंकार छाडेर
देशको हरेक मनोबलसँग
आकाश चुम्छ।

जनताको चाहना
च्यातिएको झिल्को होइन,
तेस्रो आँखा खोलेको जागरण हो।
आँधीले कतै नसक्ने भविष्य
यही माटोमा पलाउँछ,
जब जनता भन्छ,
“अब पेट्रोल होइन,
सत्ता जलाउनुपर्छ
यदि हामीलाई जलाउने खेल जारी रह्यो भने।”

यो कविता
न रोएर लेखिएको पीडा,
न आक्रोशले टुङ्गिएको दिहास।
यो त
आफ्नो देशलाई
आफ्नै अँगालोमा फर्काउने
शपथको छेउछाउमा उभिएको आवाज हो,
जहाँ परिवर्तन
तातो खिरको हतार होइन,
घाउ सुकाउने धैर्य र सत्य हो।

नेपाल
आज पनि जित्नेछ,
किनकि
रगत बग्यो भने
त्यसबाट नै
नयाँ राष्ट्रको मुना उम्रिन्छ।
हाम्रो सपना
फेरि उठ्नेछ,
फेरि बोल्नेछ,
फेरि लेख्नेछ
देशको परिभाषा।

लेखक – सुजाता जि.सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =