पोखरामा प्याराग्लाइडिङ

पोखरा । पोखराको आकाशमा यति बेला प्याराग्लाइडिङको रौनकता छाएको छ । पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ । माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ ।

पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ ।

फेवाताल, यहाँबाट देखिने हिमशृङ्खला र हरियाली डाँडाकाँडाको मनमोहक दृश्यले प्याराग्लाइडिङ अनुभवलाई अविस्मरणीय बनाएको नवलपुरबाट पोखरा घुम्न आएकि सविना मगर बताउछिन् । “चराजस्तै उड्ने र प्राकृतिक दृश्यलाई साक्षात्कार गर्ने लामो समयको चाहना पूरा भएको छ”, मगर भन्छिन्, “उचाइदेखि डर लाग्ने भएकाले धेरैचोटी कोसिस गर्दा पनि उड्न सकेको थिइन अहिले भने डर हटाएर उडन सफल भए, धेरैले उडेको देखेपछि आफूलाई पनि आँट आयो ।” पोखराको हिमाल र तालको अनुपम दृश्यलाई कैद गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै भएको उनको अनुभव थियो ।

नेपालगञ्जका सुजित जोशी पनि पोखरा आउँदा आकाशमा उड्न मन लागि हाल्ने बताउँछन् । “म पोखरा आइराख्छु, अनुकूल मौसम भयो भने प्याराग्लाइडिङ गर्छु ।” साहसिक खेल पारखी जोशीले बञ्जी, स्विङको अनुभव लिइसकेका छन् । “पोखराको सुन्दरता आकाशबाट हेर्दाको आनन्द अवर्णनीय छ, यसले मलाई साहसिक अनुभव गराउँछ”, उनी थप्छन्, “यहाँको दृश्य निकै सुन्दर छ । ताल, पहाड र हिमालको संयोजनले यो अनुभवलाई झनै विशेष बनाउँछ, पोखराको मौसम खुलेको दिन उडन मन पर्छ ।”

पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङ पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढाउने माध्यम भएको बताउँछन् । उनी भन्छन्, “यो केवल एउटा साहसिक गतिविधि मात्र नभएर, पोखराको प्राकृतिक सौन्दर्यलाई आकाशबाट नियाल्ने अवसर पनि हो, यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको साथै पोखराको पहिचानलाई विश्वसामु पुर्‍याएको छ ।”

पोखराको आकाशमा बेलाबेलामा हुँदै आएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले पनि पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको बताए । उनले पोखराको दिगो पर्यटन विकास र प्रवर्द्धनका लागि प्याराग्लाइडिङको निरन्तर विकास र व्यवस्थापन खाँचो रहेको बताए ।

पोखराको मौसम प्याराग्लाइडिङका लागि सधैँ उत्कृष्ट रहँदै आएको छ । विशेष गरी अहिलेको समयमा आकाश खुला र मौसम स्थिर हुँदा उडान गर्न निकै सहज भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले बताए ।

“पर्यटकीय मौसम भए पनि आन्दोलन र प्रतिकूल मौसमले प्रभावित भइरहेको प्याराग्लाइडिङ तिहार, छठको लामो बिदा र पोखरामा आन्तरिक पर्यटकको आगमन बढेपछि यस क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ”, केसीले भने ।

प्याराग्लाइडिङ कम्पनीहरूले सुरक्षित उडानका लागि मापदण्डलाई कडाइका साथ पालना गर्दै अहिले दैनिक २५० उडान हुँदै आएको उनको भनाइ छ । त्यसो त कोभिड महामारी अगाडिको पर्यटकीय मौसममा दैनिक कम्तीमा ५०० भन्दा बढी उडान गर्न सफल यो व्यवसाय पछिल्लो समय कोभिड महामारी र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्ववत् उडानस्थल स्थानान्तरणका कारण यो व्यवसायले समस्या झेल्दै आएको थियो ।

अध्यक्ष केसीका अनुसार पोखरामा ५२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ४०० जना लाइसेन्स प्राप्त प्यारापाइलट छन् । जसमध्ये २६० जना अहिले उडानमा सक्रिय छन् । पाँचसय जनाले प्रत्यक्ष रोजगार र १५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । करिब रु ५५ करोड बढीको लगानी रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै स्थानान्तरणको मारमा प्याराग्लाइडिङ व्यवसाय परेको थियो । सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा स्थानान्तरण गरिएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्न पुगेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा पुरानै ठाउँमा अवतरण गर्ने निर्णयपश्चात् यस क्षेत्र अहिले बिस्तारै चलायमान हुँदै गएको हो । अहिले सराङकोट र तोरीपानीको बाहाकोटबाट उडान (टेक अफ) गरेर खपौदी (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुन्छ । “यसअघि हामीलाई प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । व्यवसाय धान्न पनि मुस्किल थियो । तोरिपानीमा सारेपछि उडान भर्नेहरु पनि बिस्तारै बढन थालेका छन्”, नाका उपाध्यक्ष माधव तिवारीले भने ।

तिवारीका अनुसार अहिले बिहान ११ः०० बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुँदै आएको छ । पहिले रु १२ हजार शुल्क तोकिएकामा अहिले रु आठ हजार ५०० शुल्क तोकिएको छ ।

नेपालमा सन् १९९७ मा सन्राइज प्याराग्लाइडिङले पहिलो पटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (आरएओसी) लिनुपर्ने प्रावधान छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + two =