सरकारले निजी स्वास्थ्य संस्थामाथि निथार्ने खेल खेल्यो : सोइना शर्मा

काठमाडौं । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइना शर्माले अहिलेको अवस्थामा सरकारले निजी स्वास्थ्य संस्थामाथि अनावश्यक दबाब सिर्जना गरेको आरोप लगाएकी छन् ।

उनले सरकारकै कारण अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्याम्स काठमाडौं जस्ता ठूला सरकारी स्वास्थ्य संस्थाहरूले समेत आफ्ना कर्मचारीको तलब भत्ता दिन नसक्ने अवस्थामा पुगेको बताइन् । केही हप्ता अघि मात्रै पाटन अस्पतालका रेसिडेन्ट डाक्टरहरू तलब नपाएर आन्दोलनमा उत्रिन बाध्य भएको उनले उल्लेख गरेकी छन् ।

शर्माले भनिन्, ‘सार्वजनिक संस्थाहरूले पनि तलब दिन नसक्ने अवस्था हुँदा, सरकारले अनुदान नदिएको निजी संस्थालाई उल्टै निथार्ने नियम ल्याउन खोज्नु अन्याय हो ।’

उनले सरकारले ‘करारमा कर्मचारी राख्ने प्रवृत्ति’लाई नै संस्थागत बनाएको बताउँदै, त्यस्ता संस्थाहरूमा सुधारको जिम्मेवारी नलिएर उल्टै निजी अस्पतालहरूलाई दोष दिनु गलत भएको जनाइन् ।

अध्यक्ष शर्माले थपिन्, ‘सरकारको एक पैसा अनुदान नलिएर, आफ्नै लगानीमा विश्वस्तरका उपकरण किनेर, बैंकको उच्च ब्याज तिरेर देशको स्वास्थ्य क्षेत्रमा ७० प्रतिशत योगदान दिइरहेका निजी अस्पतालहरूलाई कानुनी जालोमा बाँध्ने खेल भइरहेको छ । यस्तो व्यवस्थाले स्वास्थ्य प्रणाली कमजोर बनाउँछ ।’

उनले बीपी कोइराला धरान जस्ता संस्थाहरू बन्न दशकौँ लाग्ने भन्दै स्वास्थ्य बीमाको रकम नआउँदा ती संस्थाहरू अंगविहीन जस्तै बनेको उदाहरण दिइन् ।

‘नेपालमा सामान्य नागरिकले महिनामा १५० देखि २०० डलर बराबरको बीमा तिर्न सक्ने अवस्था छ ? बीमाले नछेकेको खाडल कसले पुर्ने ?’ शर्माले प्रश्न गरिन् ।

सतहमा कुरा गर्न सजिलो भए पनि, भित्र घुसेर हेर्ने हो भने आज देशको स्वास्थ्य प्रणालीलाई धानेको शक्ति निजी क्षेत्र नै रहेको उनको भनाई छ । ‘निजी संस्थालाई परालझैँ कमजोर पार्ने खेल बन्द नगरे देशको स्वास्थ्य प्रणाली थप संकटमा पर्छ’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =