धनुषामा रोटेपिङ भाँचिदा ५६ जना फसे, सेनाले गर्यो उद्धार

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ स्थित राजदेवी मन्दिर प्रांगणमा शुक्रबार साँझ सञ्चालित मेलामा रोटेपिङ भाँचिदा ५६ जना यात्रु अलपत्र परेका छन् । नेपाली सेनाको सक्रिय पहलमा उनीहरूको उद्धार गरिएको छ ।
शुक्रबार साँझ करिब ७ बजेतिर पिङ चल्दै गर्दा एक्कासी भाँचिएको थियो। प्राविधिक गडबडीका कारण पिङको संरचनामा क्षति पुगेपछि त्यसमा सवार ५६ जना यात्रुहरू हावामै अड्किएका थिए । घटनालगत्तै स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विशेष गरी नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो ।
नेपाली सेना, चण्डीप्रसाद गण, धनुषाका अनुसार, उद्धार कार्य निकै चुनौतीपूर्ण थियो। साँझको समय र प्राविधिक जटिलताका बाबजुद सेनाको तालिमप्राप्त टोलीले उच्च सतर्कताका साथ काम गरेको थियो । अन्य सुरक्षा निकायको समन्वय र सहयोगमा अड्किएका सबै ५६ जनालाई सकुशल पिङबाट बाहिर निकालिएको नेपाली सेनाले पुष्टि गरेको छ ।








