तुइन खोलाको पहिरो भोलि दिउँसो मात्रै पन्छाइसकिने, वैकल्पिक सडक प्रयोग गर्न अर्को सूचना

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको विशाल पहिरो बिहीबार दिउँसोसम्म पन्छाएर यातायात सुचारु गर्ने सडक डिभिजन भरतपुरले जनाएको छ । मंगलबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि यात्रुहरूले सास्ती भोगिरहेका छन् ।

सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो तुइन खोलामा १२ हजारदेखि १४ हजार घनमिटरको विशाल पहिरो खसेको थियो, जसमा ठूला चट्टान र माटोको थुप्रोले सडक पूर्ण रूपमा ढाकेको छ । पहिरो पन्छाउने कार्य मंगलबारबाटै सुरु गरिए पनि पहिरोको परिमाण अत्यधिक भएकाले समय लागेको डिभिजनले जनाएको छ ।

बुधबार बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन भरतपुरले जानकारी दिँदै भन्यो, ‘माथिबाट अब थप ठूलो पहिराको सम्भावना कम रहेको भए तापनि झर्न बाँकी रहेका ढुंगाहरू पूर्ण रूपमा तल नझरिसकेको हुँदा अझै सानोतिनो ढुंगाहरू झर्न सक्ने सम्भावना रहेको देखिन्छ । हाम्रा उपकरणहरू र चालकहरू सुरक्षित रहँदै निरन्तर रूपमा पहिरो सफा गर्ने कार्यमा लागि नै रहेका छन् ।’

सडकमा थुप्रिएको पहिरोको विशाल मात्रा (१२०००-१४००० घन मिटरको आकलन) लाई हेर्दा बिहीबार दिउँसोसम्म मात्रै सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ।  सडक डिभिजनले यात्रुहरूलाई धैर्यधारण गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =